दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक र रामकुमार अत्याधुनिक हतियारसहित काठमाडौंबाट पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल अत्याधुनिक हतियारसहित काठमाडौंबाट पक्राउ परेका छन् ।

सोमबार सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा प्रसाईंका बडीगार्डद्वय दीपक र रामकुमार पक्राउ परेका हुन् । उनीहरूलाई सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ ।

व्यवसायी प्रसाईं आफ्ना बडीगार्डसहित मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालत पुगेका थिए । बडीगार्ड खड्का सर्वोच्चको मूलगेटबाट प्रसाईंसँगै र अर्का बडीगार्ड धिमाल अर्को गेटबाट छिरेका थिए । झोलामा लुकाई राखिएको अर्मेनिया परिनी एसएलआर–इटाली, मेडइन स्विडेन, जिएसजी–५ लेखिएको स्वचालित हतियार फेला परेको थियो । प्रहरीले झोलाभित्र हतियारको सानो म्यागजिन २, ठूलो म्यागजिन २, म्यागजिनको होल्ड १ र गोली १०० राउन्ड फेला पारेको छ ।

प्रसाईंले हतियारको लाइसेन्स रहेको दाबी गरेका छन् । प्रहरीद्वारा सर्वोच्च अदालतमा कब्जा गरेको हतियारको लाइसेन्स रहेको उनको भनाइ छ ।

लाइसेन्स लिइएको हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यले बोक्न पाउँदैन । बरामद हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिइएको छ । अनुमति प्रसाईंका नाममा र बाहकका रूपमा बडीगार्ड खड्काको नाम छ । हतियार उनका अर्का बडीगार्ड धिमालको साथबाट बरामद भएको छ ।

कानूनमा लेखिएको छ, ‘हातहतियार खरखजाना नियमावली ०२८ को अनुसूची–६ को १ मा इजाजतपत्र (लाइसेन्स) बमोजिमको हातहतियार खरखजाना इजाजतपत्र (लाइसेन्स)मा लेखिएको मानिस र इलाकाको हकमा मात्र लागू हुने हुँदा त्यस्तो इजाजतपत्र (लाइसेन्स)मा तोकिएको हातहतियार खरखजाना कसैलाई दिन वा नियमबमोजिम इजाजतपत्र (लाइसेन्स) स्वीकृत नगराई अन्यत्र लिएर जान हुँदैन ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) भूपेन्द्र खत्रीले स्वचालित मेसिन गन कसैले पनि लिएर हिँड्न नमिल्ने बताएका छन् ।

बरामद हतियार फरेन्सिक टेस्टका लागि प्रयोगशाला पठाइएको छ । घटना सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भइरहेको काठमाडौंपरिसर प्रमुख एसएसपी खत्रीले बताएका छन् ।

एसएसपी खत्री बरामद भएको यस्तो मेसिनगन लिन अनुमति जारी नहुने बताएका छन् । उनका अनुसार अर्को अनुमति नै लिए पनि सम्बन्धित व्यक्तिले नै हतियार बोक्नुपर्ने हुन्छ ।

‘अनुमति लिइएको हतियार सम्बन्धितबाहेक अन्य क्षेत्रमा लिएर हिँड्न मिल्दैन । सोमबार बरामद हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यको साथबाट बरामद भएको छ’, एसएसपी खत्रीले भने ।

‘हतियार झापाबाट लाइसेन्स लिइएको भनिएको छ । त्यसो हो भने काठमाडौं ल्याउन अनुमति लिनुपर्छ । तर, त्यस्तो भएको देखिएन’, खत्रीले भने, ‘अदालत हतियार निषेधित क्षेत्र हो । त्यस्तो ठाउँमा अनधिकृत कसैले पनि हतियार लिएर हिँड्न पाउँदैन ।’

Published : Tuesday, 2024 March 19, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया