हरिपुरकी तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूले सम्झौताअनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

तत्कालीन उपमेयर काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर तथा वडा नं १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै भएको भनी भुक्तानी दिन सिफारिस गरेका थिए ।

हरिपुरका तत्कालीन निमित्त प्रमख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर ८५ लाख १८ हजार रुपियाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

तटबन्ध निर्माणका लागि बनेको हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव ईन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरूले खोलामा तटबन्ध नसकिंदै सकिएको भनी प्रतिवेदन बनाएको, बिल भर्पाई बनाएको, हाजिर हिनामिन गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।

उनीहरू विरुद्ध पनि ८५ लाख १८ हजार रुपियाँ जरिवाना गरी बिगो असुलउपर गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८०।१२।०५ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला सर्लाही, हरिपुर नगरपालिकाले लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिपुर, सर्लाहीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल, इन्जिनियर रंजित साह र सव-इन्जिनियर संजीव चौधरीले आ.व. २०75/०७6 को जिल्ला सर्लाही, हरिपुर नगरपालिका वडा नं. 1 स्थित लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिका बीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा लागत अनुमानमा 4,812.50 वर्गमिटरको Gabion Box को प्रयोग गर्न तोकिएकोमा लागत अनुमानभन्दा कम गरी 3,495.15 वर्ग मिटरको परिमाणमा Gabion Box निर्माण गरेको, लागत अनुमानमा 8,400 घन मिटरको Earthwork Filling (माटो पुर्ने काम) तोकिएकोमा लागत अनुमानभन्दा बढी गरी 14,700 घनमिटरको परिमाणमा Earthwork Filling भएकोले मनासिब कारण बिना सो निर्माण कार्यको आकार र रूप परिवर्तन गरेको, ढुङ्गा (ग्यावियन जाली) को कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटवन्ध कमसल हुन पुगेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तरयुक्त, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई रु.85,18,631।63 भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको हुँदा निजहरु नइन्द्र कुमार पौडेल, रंजित साह र संजीव चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 को कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.85,18,631।63 कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम उक्त हानिनोक्सानी भएको बिगो असुल उपर हुन साथै प्रतिवादीहरु रंजित साह र संजीव चौधरीले अनुगमन समितिमा समेत आफै प्राविधिक सदस्य भई गलत अनुगमन प्रतिवेदन पेस गरेको र सोही आधारमा भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदावी लिइएको छ।
हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुका देवी काफ्ले, सदस्य वेद कुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नं.१का तत्कालीन वडा अध्यक्ष कुमार लामाले जिल्ला सर्लाही हरिपुर नगरपालिका वडा नं. 1 मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा कार्य सम्पन्न भएकोले भुक्तानी गर्न भनी प्रतिवेदन पेश गरी सिफारिससमेत गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।
नदी नियन्त्रण उपभोक्ता समिति, हरिपुर-1 नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्सेर बहादुर बस्नेत, सचिव इन्द्र बहादुर घिसिङ्ग र कोषाध्यक्ष निर्माला कुमारी देवीले आ.व. २०७5/०७6 को जिल्ला सर्लाही, हरपुर नगरपालिका वडा नं. 1 स्थित लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणको लागि उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता गरी कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी कार्य सम्पन्न प्रतिवेदन, विल भर्पाई, डोरहाजिरी लगायतका कागजात पेश गरेको तर सर्त एवं सम्झौता विपरीत सम्झौता बमोजिमको कार्य नगरी कमसल निर्माण कार्य गरी निर्माण कार्यमा भएको मूल्याङ्कन रु.85,18,631।63 हिनामिना गरेकोले निजहरु शम्सेर बहादुर बस्नेत, इन्द्र बहादुर घिसिङ्ग र निर्माला कुमारी देवी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कसुरको दफा २२ अनुसार लाभ प्राप्त गर्ने प्रकृतिको मतियार पुष्टि भएको हुँदा निजहरुलाई मुख्य कसुरदारलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैदको सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो रु.८५,१८,६३१।६३ (पचासी लाख अठार हजार छ सय एकतीस रुपैयाँ त्रिसठ्ठी पैसा) जरिवाना गरी उक्त बिगो असुल उपर गरी ऐ.ऐनको दफा १९(२) बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

Published : Monday, 2024 March 18, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया