७० करोड प्रकरणमा बास्कोटाकाे जति नैतिकता देखिएनन् लामिछानेमा, खतिवडाले एआइजी ज्ञवालीमाथि उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले तत्कालीन सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भएको ७० करोड रुपियाँको घुससम्बन्धी टेलिफोन वार्ताको टेप आफूले नै मिडियालाई दिएको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले गोकुल बास्कोटाको ७० करोड सम्बन्धी भ्रष्टाचारको अडियो आफूले सञ्चारमाध्यमलाई दिएको बताए ।

राज्य व्यवस्था तथा सुाशसन समितिका सभापति समेत रहेका सांसद खतिवडाले टेप काण्ड बाहिर आएपछि तत्कालीन मन्त्री बास्कोटाले पदबाट नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाको टेपकाण्ड बाहिरिएपछि नैतिकताका आधारमा अर्काे दिन नै राजीनामा दिएको प्रसङ्ग खतिवडाले उल्लेख गरेका छन् ।

सांसद खतिवडाले गृहमन्त्रीमाथि प्रश्न उठेपछि यसबारे प्रधानमन्त्रीको धारणा जान्न चाहेको बताएका छन् ।

‘गल्ती गरेको छभने पक्राउ पर्दा म खुसी हुने मान्छे हो’, खतिवडाले भने, ‘गल्ती गरेको छभने सानो–ठूलो जोसुकै भए पनि पक्राउ पर्नुपर्छ ।’

उनले भने, ‘सुन काण्डसँग सम्बन्धित प्रतिवेदन आएको छ । सीआइबीले पनि केही नाम उल्लेख गरेको छ ।’

‘पैसा माग्यो भनेका छन् । गोकुल बाँस्कोटाको तत्कालीन अवस्थाको टेप मैले कुनै पत्रकारलाई दिएको थिएँ’, उनले भने, ‘आज खुलस्त पार्न चाहन्छु ।’

कांग्रेसका सांसद खतिवडाले भने, ‘म गल्ती गरेको छु भने मलाई नै पक्राउ पनि म खुसी हुने मान्छे हो । गल्ती गरेको छ भनेपछि ।’

‘केही छैन । जो सुकै होस् । राम होस् कि, श्याम होस् कि, ठूलो होस् कि, सानो होस् कि, माछा होस् कि, फट्याङ्ग्रा होस् कि, भ्यागुतो होस् । भ्यागुतो, माछा भने ननिकाल्नुस् । प्रतिवेदन आएको छ । अझै यो प्रतिवेदनमा केही कुराहरू छन्’, उनले भने ।

‘तपाईहरूलाई म अहिले पनि अनुरोध गरेँ । सीआइबीले दिएको रिपोर्टमा कतिपय मान्छेहरूको नाम उल्लेख छ । कतिपयले सीआइबीमा अहिले गएका मान्छेकै बारेमा नामहरू उल्लेख गरेका छन् । पैसा माग्यो भनेको छ’, सभापति खतिवडाले भने ।

सांसद खतिवडाले भने, ‘हामी गृहमन्त्रीको विरुद्धमा लागेको होइनौँ । सहकारी पीडितको बारेमा, सहकारी पीडकहरूको बारेमा मात्रै कुरा उठाएको हो ।’

व्यवसायी जीवन चलाउनेले आफूसँग एआईजी श्यामलाल ज्ञवालीले आईजीपी बन्नका लागि एक करोड रकम माग गरेको भिडियो सार्वजनिक गरेका छन् । चलाउनेलाई सुन तस्करी प्रकरणमा एर्आइजी ज्ञवालीको जोडबलमा नाम मुछिको आरोप लाग्दै आएको छ ।

सहकारीको रकम दुरुपयोग गरेको अभियोग लागेका रास्वपाका सभापति लामिछाने गृहमन्त्री बनेका छन् । लामिछानेले विवादित एआईजी ज्ञवालीलाई सीआइबीमा निर्देशक बनाएर लगेका छन् ।

Published : Monday, 2024 March 18, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया