संसदमा उठ्यो प्रश्न – आईजीपी बन्न व्यापारीसँग रकम मागेका एआईजीलाई सीआईबी किन लगेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले एआईजी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले एआईजी ज्ञवालीले जीवन चलाउनेबीच दुई करोड लेनदेनको विषय बाहिर आएको बताए ।

उनले भने, ‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ ।’

चैत २ गते मन्त्रिपरिषद् बैठकले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यलाई हटाएर एआईजी श्यामलाल ज्ञवालीलाई लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले सीआईबीमा विवादमा परेका एआईजी ज्ञवालीलाई लगेपछि कांग्रेसले संसदमा आवाज उठाएको छ ।

सुन प्रकरणमा जबरजस्ती जोडिएका व्यवसायी जीवन चलाउनेसँग एआईजी ज्ञवालीले आईजीपी बन्नको लागि भन्दै रकम माग गरेको भिडियो सार्वजनिक भएको छ । एआईजी ज्ञवालीलाई पनि छानविन गर्नुपर्ने बेला सहकारीको अर्बौं रकम दुरुपयोग गरेको अभियोग लागेका लामिछाने गृहमन्त्री बनेका छन् ।

लामिछाने गृहमन्त्री बनेपछि उनीविरुद्ध छानविन गर्दै आएको सीआईबीले आफ्नो अनुसन्धानलाई रोकेको छ ।

Published : Monday, 2024 March 18, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया