बाँसबारी जग्गा प्रकरणमा पक्राउ पर्ने तनाबमा रहेका विनोद चौधरीले दिए स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका व्यवसायी विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखाना र च्याम्पियन, फुटवेयरको सम्पत्तिसँग आफ्नो कुनै सरोकार नभएको जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सिद्धान्त र प्रथामिकता सम्बन्धी छलफलमा भाग लिँदै चौधरीले भने, ‘यो सम्पत्तिसँग मेरो सरोकार नभएको कुरा पनि म यहाँ राख्न चाहन्छु ।’

उनले भने, ‘बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडसँगै च्याम्पियन, फुटवेयर लिमिटेडमा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामीमार्फत बिक्री गर्ने तत्कालीन सरकारको निर्णयानुसार लिलामीको दोस्रो सूचनामा उत्कृष्ट प्रस्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको हो ।’

सांसद चौधरीले भने, ‘म विगत ४५ वर्षदेखि नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक क्रियाशील छु । नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाई विश्वमा नेपालको गौरव बढाउन सकिन्छ भन्नेमा गहिरो विश्वासले गर्दा मलाई यो बाटोमा डोर्‍याइरहेको छ ।’

काठमाडौंको महाराजगञ्ज, बाँसबारीमा रहेको दश रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको छ । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेर अदालतको आदेशमा रिहा भएका छन् ।

गृहमन्त्री रवि लामिछानेले व्यवसायी विनोद चौधरीलाई पक्राउ गरेर बाँसबारीको जग्गा हडपेको अभियोगमा बयान लिन निर्देशन दिएका बेलाउनले संसदमा आफ्नो स्पष्टीकरण दिएका छन् ।

Published : Monday, 2024 March 18, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया