नेपाल टेलिकमका प्राविधिक अधिकृतलाई एक करोड ६१ लाखभन्दा धेरै भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आइतबार उनीविरुद्ध १ करोड ६१ लाख २० हजार रुपियाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएको विज्ञप्तिमा उल्लेख छ ।

सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत कार्य गरी व्यापार व्यवसाय गरेका थिए ।

उनले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनामा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

कानूनी प्रावधान विपरीत नेपाल टेलिकमको स्वीकृतिविना निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा काम गर्दै आएका थिए ।

उनले उक्त कम्पनीमा काम गरेर पारिश्रमिकबापत रकम बुझेको तथा विभिन्न ठेक्का पट्टा समेतमा सामेल भई पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट १ करोड १६ लाख आय प्राप्त गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८०।१२।०४ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मल प्रसाद सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै Himdung & Thokar Construction Company मा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र Suryabinayak-Dhulikhel-Sindhuli-Bardibas Road Project मा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, 2061 को विनियम 81(3) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, 2078 को विनियम 101 बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत नेपाल टेलिकमको विना स्वीकृति निजी कम्पनी Himdung and Thokar Construction Pvt. Ltd. को शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा आ.व. 2069/070 देखि काम गरिरहेको, परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टासमेतमा सामेल भई Himdung and Thokar Construction Pvt. Ltd. कम्पनीबाट रु.45,17,500।- पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय रु.1,16,02,504।30 समेत गरी जम्मा रु.1,61,20,004।30 (एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा) गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको हुँदा निज निर्मल प्रसाद सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 14 बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति रु.1,61,20,004।30 (एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा) बिगो कायम गरी सोही ऐनको दफा 14 बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

Published : Sunday, 2024 March 17, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया