स्रोत नखुलेको रकमसहित बाँके र कैलालीमा मानिसहरू पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँके जिल्लामा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपियाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा बर्दियाको राजापुर नगरपालिका–७ बस्ने २० वर्षीय तेजनारायण थारू र सोही नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी शम्शेरगंजबाट खटिएको प्रहरीले भे.९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।

उता, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट स्रोत नखुलेको नगद १ लाख ४१ हजार भारतीय रूपियाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ बसपार्क बस्ने ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अकिंत गुप्ता रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र ०१००८ प १६६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

Published : Thursday, 2024 March 14, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया