काठमाडौंमा वेश्यावृत्ति गराउने हिरन राई पक्राउ, दुई जनाको उद्धार

काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक ३८ वर्षीय हिरन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाहरूलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक राईलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । उदयपुरको बेलका नगरपालिका–५ ठेगाना भएका हिरन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको हो । उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्दार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

Published : Thursday, 2024 March 14, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया