विदेशमा लुकेर बसेका मोस्ट वान्टेड मान्छे पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार भएका व्यक्ति २९ वर्षीय रोशन राईलाई कुवेतबाट पक्राउ गरेर ल्याइएको छ ।

लागूऔषध खैरो हेरोइन मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका–१२ ठेगाना भएका रोशन राईलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका काठमाडौं ल्याइएको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार उनलाई नेपाल फिर्ता ल्याइएको छ ।

ईलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकाश बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।

थप अनुसन्धान एवम् सोधपुछको क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।

Published : Thursday, 2024 March 14, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया