राजदेवी र झिलिमिलिया माईको मूर्ति तोडफोड गर्ने उछृङ्खल तत्व औजारसहित मलंगवामा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले राजदेवी मन्दिरमा तोडफोड गरेको अभियोगमा ३३ वर्षीय राकेश बैठालाई नियन्त्रणमा लिएको छ ।

राकेशले मंगलबार साँझ साढे ६ बजे सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ८ मा रहेको राजदेवी मन्दिर र झिलिमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए । सूचना पाउनेवित्तिकै खटिएको प्रहरीले राकेशलाई सबुत प्रमाणसहित पक्राउ गरेको छ ।

मूर्ति तोडफोड गरेको अभियोगमा मलंगवा नगरपालिका वडा नं. ८ बस्ने राकेशलाई बुधबार पक्राउ गरि जिल्ला अदालत सर्लाहीमा पेश गरेर ५ दिनको म्याद थप गरिएको एसपी ज्ञवालीले बताएका छन् ।

मूर्ति तोडफोड गर्ने क्रममा प्रयोग गरिएका औजारसहित राकेशलाई पक्राउ गरिएको छ । राकेशले मन्दिरभित्र प्रवेश गरेर किन र कस्को उक्साहटमा मूर्ति तोडफोड गरेर धार्मिक संहिष्णुता भड्काउने प्रयास गरेका हुन् सो विषयमा पनि प्रहरीले सक्ष्म अनुसन्धान शुरु गरेको छ ।

सर्लाही जिल्लामा केही उछृङ्खल तत्वले विगत केही महिनादेखि धार्मिक संहिष्णुता विथोल्न गतिविधि गर्ने प्रयासहरू गर्दै आएका छन् । सर्लाहीमा प्रहरी प्रशासनले निकै चनोखो भएर त्यस्ता उछृङखल गतिविधिलाई नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ ।

मुलुकी अपराध संहिता २०४७ को परिच्छेद ९ को धर्म सम्बन्धी कसूरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्‍याउन नहने, धार्मिक भवनमा आघात पुर्‍याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पुर्‍याउन नहुने, धर्म परिवर्तन गरान नहुने व्यवस्था रहेको र धर्म सम्बन्धी कसूरमा अधिकतम पाँच वर्षसम्म कैद र पाँच हजार रुपियाँ जरिवाना हुने व्यवस्था रहेको छ ।

एसपी ज्ञवालीले मन्दिरमा रहेको मूर्तिमा तोडफोडमा संलग्न बैठकलाई थप अनुसन्धान गरि कानून बमोजिम हदैसम्मको कारबाही हुने चेतावनी दिएका छन् ।

Published : Thursday, 2024 March 14, 7:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया