पर्यावरण बचाउन स्थानीय जनप्रतिनिधिहरूलाई अवसर दिनुपर्छ : सभपाति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशान समितिका सभापति रामहरि खतिवडाले स्थानीय तहसम्म अधिकार पुग्न नसक्दा पर्यावरणको संरक्षणमा समस्या आइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति खतिवडाले सामान्य कार्यक्रमहरूमा समेत प्रधानमन्त्री र मन्त्रीहरू पुग्ने परम्पराले पनि पर्यावरण बचाउने कार्यमा कठिनाइ भएको बताए । उनले पर्यावरणसम्बन्धी कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधिहरूलाई सहभागी हुने मौका दिनुपर्ने बताए ।

खतिवडाले भने, ‘कालापत्थरमा मिटिङ त राख्यौँ । हाम्रा हिमालहरू सबै काला भए, पत्थर रहे । अहिलेको अवस्था त्यस्तै भइरहेको छ । मिटिङले मात्रै कुनै अर्थ राख्दैन रहेछ ।’

‘अन्तर्राष्ट्रिय समुदायमा पुग्यौँ । हामीले स्थानीय तहसम्म पुर्‍याउन प्रयास र प्रत्यत्न गर्नुपर्ने हो त्यो अहिलेसम्म गरेको अनुभूति गर्न सकेका छैनौँ’, उनले भने ।

‘एउटा सामान्य कन्फ्रेन्समा भाग लिनुपर्‍यो भने प्रधानमन्त्री आफै कुदने, त्यसको कार्यान्वयन चाहिँ स्थानीय तहले गर्नुपर्ने, मन्त्रालयका मन्त्री आफै जाने, स्थानीय तहका जनप्रतिनिधिलाई जुन ठाउँमा पुर्‍याउनु पर्ने हो त्यो ठाउँमा पठाउन अहिले पनि गाह्रो छैन’, उनले भने ।

सभापति खतिवडाले भने, ‘संघीयताको कार्यान्वयन त्यो कारणले पनि भएको छैन । अन्तर्राष्ट्रिय समुदायलाई पनि बुझाउन सकेका छैनौँ ।’

भविष्यमा विश्वभरि पानीको हाहाकार हुने बताउँदै खतिवडाले बिजुलीभन्दा महँगो पिउने पानी हुने बताएका छन् ।

‘बिजुली निर्यात गर्ने कुरा गरिरहेका छौँ । कल्पना गर्नुस् अबको २५/३० वर्षपछि बिजुली होइन, नेपालले सबैभन्दा बढि महँगो पानी बेच्ने दिन आउँछ’, उनले भने, ‘त्यतातिर कसैको ध्यानाकर्षण भएको छैन ।’

‘अन्तर्राष्ट्रिय समुदायमा पानीको हाहाकार समस्या आउँदैछ’, खतिवडाले भने, ‘हामीमा विकासको प्लानिङ नै छैन । जहाँ पनि मूल बन्द गरिदिएका छौँ, बाटो खनेका छौँ, पहिलो गएको छ, पर्यावरण ध्वस्त भएको छ ।’ उनले भने, ‘सरकारले वातावरण मन्त्रालय राखेर वातावरण बचाउन स्थानीय तहसम्म पुर्‍याउनुपर्छ । हामीले बचाउने भनेको स्थानीय तहलाई हो ।’

‘मलाई व्यक्तिगत रुपमा भन्नु हुन्छ भने वडालाई नै हो पहिलो प्राथमिकता दिनुपर्ने । सबैभन्दा बलियो बनाउने भनेको स्थानीय तहको वडाहरू हो’, उनले भने, ‘हामीले सबैभन्दा पहिला संघ त्यसपछि प्रदेशलाई बलियो बनाइरहेका छौँ । प्रदेश र संघ भएपछि उब्रिएर बचेको स्थानीय तहमा जाने भयो ।’

Published : Tuesday, 2024 March 12, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया