दङ्गाली र कर्णाली दुई होटलमा प्रहरी छापा, ठूलो रकमसहित मान्छेहरू पक्राउ

नेपालगञ्ज । बाँके जिल्लामा स्रोत नखुलेको एक करोड रकमसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरस्थित संतोषी दङ्गाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपियाँ र ११ लाख भारतीय रूपियाँसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, होटल संचालक दाङको तुलसिपुर उपमहानगरपालिका–९ बस्ने ४३ वर्षीय कृष्णबहादुर बिक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैबीच, नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपियाँ र ४ लाख ४० हजार भारतीय रूपियाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Tuesday, 2024 March 12, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया