कम्युनिस्ट सरकार राजनीतिक पूर्वाग्रही बन्यो, कांग्रेस निकटका प्रमुखहरू हटायो

काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले राजनीतिक पूर्वाग्रही भएर गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले ३ जना प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।

गण्डकीमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन् । उनीहरू नेपाली कांग्रेस निकटका हुन् । कम्युनिस्ट गठबन्धन बने लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीसँग सल्लाह गरेर हटाउने निर्णय गरेका छन् ।

रिक्त हुने पदहरूमा मधेश प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय भएको शर्माले बताएकी छिन् ।

मन्त्री शर्माले भनिन्, ‘प्रदेश र केन्द्र सरकारको बीचमा आवश्यक समन्वय जरूरी हुन्छ । अहिले प्रदेशहरूमा देखिरहेकै छौं । कतै विश्वासको मत फिर्ता लिने त कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिक रूपमा सरल र सहज होस्, प्रदेश र केन्द्रको राजनीतिक दृष्टिकोण समान होस् भनेर गरिएको हो ।’

Published : Monday, 2024 March 11, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया