बसेरा होटलमा ओली र नेपालको गोप्य भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने गरेर गृहकार्य शुरु भएको नेताहरूले दाबी गरेका छन् ।

काठमाडौंको बबरमहलस्थित बसेरा बुटिक होटलमा फागुन २६ गते शनिबार एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ । बसेरा होटलको भेटवार्तालाई ओली र नेपाल दुबैले लुकाउन खोजेका छन् । उनीहरूले होटलमा भएको आन्तरिक कुरालाई खुलेर बताउन चाहेका छैनन् ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन अर्थात् कम्युनिस्ट गठबन्धन बनाएपछि ओली र नेपालबीच पार्टी एकीकरणसम्मको कुराकानी भएको छ ।

ओली उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर अध्यक्ष नेपाललाई भेट्न पुगेका थिए । अध्यक्ष नेपालले उपाध्यक्ष प्रमेश हमाललाई लिएर गएका थिए ।

फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षले आठ बुँदे सहमतिमा गठबन्धनका तर्फबाट हस्ताक्षर गरेका छन् ।

एमाले अध्यक्ष ओलीको मुख्य योजना नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्नेमा छ । जसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा एमालेलाई पहिलो दल बनाउने ओलीको योजना पूरा हुनेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा मात्र होइन, प्रदेश सभामा समेत धेरै ठाउँमा पहिलो दल बन्ने योजना बनाइरहेका ओलीका लागि नेकपा (एकीकृत समाजवादी)सँग एकता महत्वपूर्ण छ ।

ओलीले यो गठबन्धनमा माधव नेपाललाई पनि ल्याएर त्यसका लागि ढोका खोलेका छन् । ओलीले के रणनीति बनाएका छन् सबैलाई थाहा छ । ओलीले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई सबक सिकाउन चाहेका छन् । ओलीको त्यो चाहना नेकपा (एकीकृत समाजवादी)लाई एमालेमा बिलय गराएपछि मात्रै पूरा हुनेछ ।

Published : Monday, 2024 March 11, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया