लोकतन्त्रमा मात्र सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

सोमबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् ।’

‘यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ’, उनले भने, ‘यी चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व हो ।’

सभापति देउवाले भने, ‘लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् ।’

‘सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरूका लागि पनि जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो ।’

‘यो ल्होसार नयाँ वर्ष सम्पूर्ण नेपालीहरूका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, यही मेरो हार्दिक शुभ–कामना’, सभापति देउवाले भने ।

Published : Monday, 2024 March 11, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया