काठमाडौं लैजान लागेका प्याज, बिडी, फूल, कपडाहरू सर्लाहीमा बरामद

मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अबैध रुपमा भन्सार छलि ल्याएका फूल, कपडा, गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार केही व्यक्तिहरूले भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी काँचा फूल लगायत कपडाहरू चार चक्के भ्यानमा नेपालको हरिपुर्वा हुँदै काठमाडौंतर्फ लैजान लागेको सूचनापछि नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए ।

प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले शुक्रबार साँझ हरिपुर्वा नगरपालिका वडा नं. ५ संग्रामपुरबाट प्रदेश २–०३–००१ च ०६८४ नम्बरको पिकअप गाडीलाई चेकजाँज गर्दा भन्सार छलिका सामग्रीहरू बरामद भएको थियो ।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ३ बस्ने चालक वर्ष ४२ को सन्तोष मगर र सवारी धनी सर्लाहीको पर्सा गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३८ को सरोज भण्डारीलाई नियन्त्रणमा लिइएको एसपी ज्ञवालीले बताए ।

करीव १२ लाख मूल्य बराबरको बरामद भएको फूल, कपडा, गाडीसहित सामग्री र मानिसहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवा पठाइएको छ ।

यसैबीच, सर्लाही प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गको बागमती नगरपालिकाको वडा नं. ११ बाट ५२ बोरा प्याज बरामद गरेको छ ।

मधुवनगोठबाट काठमाडौं जान लागेको बागमती प्रदेश ०६–००१ ख ००३ नं. र ना ६ ख ७१०० नम्बरको बसको डिक्कीभित्र लुकाइ काठमाडौं लैजान लागेको ५२ बोरा प्याज र २ बोरा बिडी बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 March 10, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया