लुम्बिनीको राजधानीको सामुदायिक वन समूहमा कांग्रेसका पाण्डेको टिम निर्वाचित

मसुरिया । दाङको घन्टदेव सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा दुर्योधन पाण्डे नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित भएका पाण्डे घन्टदेव सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष पनि हुन् ।

सोमबार सम्पन्न मतगणनापछि सार्वजनिक भएको नतिजाअनुसार पाण्डेले ४६५ मतसहित अध्यक्ष पद कब्जा गरेका छन् । पाण्डे नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । उनले केन्द्रको गठबन्धनको लाइनअनुसार माओवादी केन्द्रसँग सहकार्य गरेर उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदमा हरिप्रसाद भुसाल पराजित भएका छन् । भुसालले ३७० मत पाएका थिए । पाण्डेसँग भुसाल फराकिलो मतअन्तरले पराजित भएका छन् । भुसाल पनि कांग्रेसबाटै उम्मेदवार बनेका थिए । भुसालले एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । भुसाल सामुदायिक वन उपभोक्ता समूह दाङका अध्यक्ष पनि हुन् ।

पाण्डे समूहबाट पूरै प्यानल अत्याधिक मतसहित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । राप्ती गाउँपालिकाको वडा नं. ३ मा रहेको घन्टदेव सामुदायिक वन उपभोक्ता समूहमा ठूलो संख्यामा उपभोक्ता छन् । लुम्बिनी प्रदेशको राजधानी रहेको वडा नं. ३ को यो वन समूहले राजनीतिक रुपमा ठूलो महत्व राख्छ ।

निर्वाचित हुनेमा उपाध्यक्षमा टेकबहादुर गिरी, सचिवमा सुधाकुमारी शाही, कोषाध्यक्षमा भानबहादुर घर्ती रहेका छन् ।

सदस्यहरुमा दमन्ती थापा मगर, खुमीसरा रोका, विन्दु परियार, गोमती पुन मगर, राजकुमारी घर्ती मगर, उब्जलाल पुन, सन्तोष भण्डारी, मिल्कु चौधरी र गुरुदेव चौधरी निर्वाचन भएका छन् ।

Published : Tuesday, 2024 February 27, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया