कमाण्ड तथा स्टाफ तालिमका अधिकृतहरूबाट प्रहरी हेडक्वाटरकाे अवलोकन

काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३० का तालिमरत ६२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको मंगलबार अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका छन् ।

सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गरेका छन् । नेपाल प्रहरीसँग सम्बन्धित ‘विलिभ इन ब्लु’ नामक वृतचित्रको समेत प्रस्तुतीकरण गरिएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका छन् । उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरुपण गरेका छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठनबीच आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने कार्कीले बताएका छन् ।

नेपाली सेनाका सह–सेनानी राकेश बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका छन् ।

तालिमरत अधिकृतहरूमा २ जना महिला र ६० जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये भारत, पाकिस्तान, कोरिया, माल्दिभ्स, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो ।

Published : Tuesday, 2024 February 20, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया