पोखरामा विन्दुको प्रमाणपत्रहरू नक्कली भेटियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकी विन्दु गौतम शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

शर्माले सरकारी विद्यालयमा शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालतमा मंगलबार आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको आयोगले जनाएको छ ।

शर्माको प्रमाणपत्रहरू छानविन हुनुपर्ने मागसहित उजुरी निवेदन परेपछि अनुसन्धान गरिएको थियो ।

शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी. भारतबाट एस.एल.सी. तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

शर्माको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसूर भएको भन्दै आयोगका प्रवक्ता नरहरि घिमिरेले शर्माउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएका छन् ।

Published : Tuesday, 2024 February 13, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया