गरुड सेक्युरिटीको कर्तुतहरू सार्वजनिक, तलब नपाएपछि आन्दोलन गरेर झुकाए

काठमाडौं । भाडामा सुरक्षागार्ड उपलब्ध गराउँदै आएको बदनाम ‘गरुड सपोर्ट सर्भिसेज प्रा.लि.’ले दुई महिनासम्म तलब नदिएपछि आन्दोलन गरेर मजदुरहरूले व्यवस्थापनलाई झुकाएका छन् ।

काठमाडौंको बाँसबारी, चप्पलकारखानामा कार्यालय रहेको गरुडले सुरक्षाकर्मीको काम गर्ने मजदुरहरूलाई दुई महिनासम्म तलब नदिएको हो । श्रमिकहरूले आन्दोलन गरेपछि गरुडले दुई महिनाको तलब दिने सहमति जनाएपछि आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेमबहादुर कार्कीले गुरुड सेक्युरिटीले आफ्ना श्रमिकहरूलाई तलब नदिएपछि आन्दोलन गरेर दुई महिनाको तलब दिन बाध्य पारिएको बताए । उनले तत्कालका लागि आन्दोलन स्थगित भएको बताएका छन् ।

गरुडका देशभरिमा ९ हजार सुरक्षाकर्मी श्रमिक छन् । ती मजदुरहरूमध्ये अधिकांशले समय तलब नपाएको अध्यक्ष कार्कीले बताएका छन् । गरुड सेक्युरिटीका विरुद्ध बेलाबेला श्रमिकहरूले आन्दोलन गर्दै आएका छन् ।

गरुड सेक्युरिटीका म्यानेजिङ डाइरेक्टर सबलचन्द्र शाह हुन् । शाहले श्रमिकहरूलाई निकै दमन गरेर राखेका छन् ।

शाह १०/१५ जना बाउन्सर राखेर सुरक्षा घेराभित्र बस्छन् । गरुड सेक्युरिटीका विरुद्ध कसैले आवाज उठायो भने शाहले चरम दमन गर्ने गरेको आरोप छ ।

श्रमिकलाई समयमा तलब नदिने र दमन गरेर मानवअधिकार हनन् गर्ने गरुडका श्रमिक राख्नुभन्दा अगाडि सम्बन्धित संस्था, कम्पनी वा व्यापारिक घरानाले श्रमिकको तलब समयमा दिनुपर्ने अडान राख्नुपर्ने माग उठेको छ ।

गरुड सेक्युरिटीको प्रशासन प्रमुख अभिषेकबहादुर कार्की, अपरेटिङ डाइरेक्टर विष्णुहरि बानियाँ र म्यानेजिङ डाइरेक्टर गोपाल श्रेष्ठ हुन् । उनीहरूका कर्तुत् पनि शाहको भन्दा कम छैन । यी चार जनाको टिमले श्रमिकहरूमाथि निकै दमन गर्ने गरेका छन् ।

गरुड सेक्युरिटीले कृषि विकास बैंकमा पनि सुरक्षाकर्मी सप्लाइ गरेको छ । त्यहाँका सुरक्षाकर्मीलाई पनि समयमा तलब नदिएपछि आन्दोलन गर्नु परेको थियो ।

वीर अस्पतालमा पनि गरुड सेक्युरिटले श्रमिक सप्लाइ गरेको छ । ती श्रमिकहरूलाई गरुडले तलब नदिएपछि आन्दोलन गर्नुपरेको अध्यक्ष कार्कीले बताएका छन् । कार्कीले भने, ‘गरुड सपोर्ट सर्भिसेज प्रा.लि.ले आफूलाई सुधार गरेर श्रमिकका मागप्रति गम्भीर बनायो भने ठीक छ । होइन भने आन्दोलन गरेर कसरी झुकाउन बाध्य बनाउनुपर्छ हामीले जानेका छौँ ।’

अध्यक्ष कार्कीले दुई चार जना बाउन्सर राखेर श्रमिकहरूलाई तलब नदिएर दमनमा राखेर धेरै दिन गरुडको व्यापार नचल्ने चेतावनी दिएका छन् ।

श्रम ऐनअनुसार श्रमिकहरूलाई न्यूनतम १५ हजार दिनुपर्छ । अन्य सेवा र सुविधा कम्पनीको तजबिजी अधिकारमा भरपर्छ । गरुडका म्यानेजिङ डाइरेक्टर सबलचन्द्र शाह सम्पर्कमा आउन सकेनन् । फोन उठाउने व्यक्तिले नाम र नम्बर टिपेर राखेपनि कुनै प्रतिक्रिया दिएनन् ।

Published : Wednesday, 2023 April 26, 1:46 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया