तीस वर्षपछि सभापति देउवाले नेता भट्टराईलाई न्याय गरे

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार साँझ बसेको कांग्रेसको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई कांग्रेसको तर्फबाट उम्मेदबार बनाउन सहमति जुटेको थियो ।

कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनावमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छैनन् ।

भट्टराई २०४८ सालदेखि नेपाली कांग्रेसको लगातार महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् । उनी लगातार तीन पटक कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।

कांग्रेस सभापति देउवाले चुनाव जितेर आउँनुभन्दै भट्टराईलाई शुभकामना समेत दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो निर्वाचन क्षेत्रमा भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेका छन् । नेता भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनका साँझ उम्मेदबार हुने भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उप–निर्वाचन गर्ने मिति तोकेको छ । तनहुँ– १ मा रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनले राजीनामा दिएकाले उप–चुनाव हुँदैछ ।

यता, चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उप–चुनाव हुन लागेको छ ।

उप–राष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा २ मा पनि वैशाख १० गते नै उप–चुनाव हुँदैछ ।

Published : Sunday, 2023 March 26, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया