कांग्रेसले उप–निर्वाचनमा के तयारी गरेको छ ? क–कसले पाउँछन् टिकट ?

काठमाडौं । नेपाली कांग्रेसले उप–निर्वाचनका लागि सोमबार उम्मेदवारको चयन गर्ने भएको छ ।

शनिबार धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार उप–निर्वाचनका लागि टुंगो लगाउने धारणा सुनाएका हुन् । विक्रम संवत २०८० सालको वैशाख १० चितवन, तनहुँ र बारामा उप–निर्वाचन हुन लागेको छ ।

चितवन २, तनहुँ १ र बारा २ मा हुने उप–निर्वाचनमा कांग्रेसले कसलाई टिकट दिने हो केही भनिएको छैन । बारा २ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारी गरेका छन् । यादवले कांग्रेससँग सहयोग माग गरेका छन् ।

यसअघि बारा २ मा कांग्रेसले चुनावी गठबन्धनमा माओवादी केन्द्रलाई समर्थन गरेर उम्मेदवारी दिएको थिएन । सभापति देउवाले बारा २ मा जसपाका अध्यक्ष यादवले सहयोगका लागि आग्रह गरेको उल्लेख गरेको एक पदाधिकारीले बताएका छन् ।

बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादव उप–राष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । कांग्रेसको समर्थनका बाबजुद बारा २ मा माओवादी केन्द्रका शिवचन्द्र कुशवाह पराजित भएका थिए ।

उप–निर्वाचन हुने चितवन २ र तनहुँ १ मा कांग्रेसले आफ्नै उम्मेदवार उठाउनेछ । कांग्रेसले चितवन २ मा यसअघि उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

तनहुँ १ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ रिक्त छ । कांग्रेसले तनहुँ १ मा नेता गोविन्द भट्टराईलाई टिकट दिने तयारी गरेको छ । भट्टराईले चुनावी अभियान र प्रचार प्रसारलाई अनौपचारिक रुपमा अगाडि बढाइसकेका छन् ।

Published : Sunday, 2023 March 26, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया