कांग्रेस-माओवादीकाे पुरानो गठबन्धन ब्यूँताउन भूमिका खेल्ने नेताद्वारा देउवा-प्रचण्डसँग वार्ता

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पुरानो गठबन्धन ब्यूँताएकोमा शुभकामना दिएका छन् ।

उनले जनताको सेवामा काम गर्न देउवा र दाहालसँग आग्रह गरेका छन् ।

चीनमा उपचार गराइरहेका नेता पुनले मंगलबार दाहाल र देउवालाई फोन गरेर मुलुकको विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । पुनको सचिवालयका अनुसार दाहाल र देउवालाई मिलेर जनताका मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

एमाले र माओवादीको गठबन्धन भत्काउने मुख्य भूमिका नेता पुनको रहेको छ । पुन र नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले देउवा र दाहाललाई नजिक बनाउन भूमिका खेलेका थिए ।

सभापति देउवासँगको परामर्शमा नेता बस्नेतले पुनसहितका माओवादी नेताहरूसँग सम्पर्क गरेर कांग्रेस–माओवादीलाई नजिक ल्याउन भूमिका खेलेका थिए ।

नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । उनी छिट्टै स्वदेश फिर्ता हुनेछन् ।

Published : Wednesday, 2023 March 22, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया