कांग्रेससहितका दलहरूद्वारा प्रधानमन्त्री दाहाललाई बचाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित १० दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने सहमति गरेका हुन् ।

सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने सहमति बनेको छ ।

आइतबार संसदमा प्रस्तुत गर्ने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ ।

संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुन लागिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाली, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शर्वेन्द्रनाथ शुक्ला, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र आम जनता पार्टीका अध्यक्ष प्रभु साहसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले मधेश आन्दोलनका शहीदहरूको नाम पनि राजपत्रमा प्रकाशित गर्नुपर्ने माग गरेका छन् । उनले मलको बढ्ने मूल्यलाई कम गर्न पहल गर्न प्रधानमन्त्री दाहालसँग माग राखेका छन् ।

नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै राखेर भएपनि टेलब गर्नुपर्ने माग अध्यक्ष राउतको छ ।

Published : Saturday, 2023 March 18, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया