राष्ट्रपति पौडेलद्वारा सांसदहरूलाई दिए धन्यावाद, सभापति देउवा पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताएका छन् ।

शनिबार शीतल निवासमा सांसदहरूको स्वागतमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनीतिक उपलब्धिको रक्षा र जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

उनले मुलुकमा अहिले चुनौती रहेको बताएका छन् । उनले राजनैतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्नेतर्फ गम्भीर हुनपर्ने बताएका छन् ।

पौडेलले लोकतान्त्रिक संस्थाहरू बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न बताएका छन् ।

राष्ट्रपति पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन् ।

उनले भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’

पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताए ।

उनले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् ।

राष्ट्रपति निर्वाचन र उप–राष्ट्रपति निर्वाचनमा सहभागी हुन आएका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरूलाई ध्यावाद ज्ञापन गर्न पौडेलले चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 March 18, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया