कांग्रेसले समर्थन गरेपछि केही नेताहरूलाई ज्वरो आयो : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उप–सभापति धनराज गुरुङले मुलुकको साझा समस्या समाधान गर्न कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै गुरुङले कांग्रेसले विश्वासको मत दिँदा सत्ता पक्षका केही नेताहरूलाई ज्वरो आएको बताए ।

उनले भने, ‘नेताले समस्याको समाधान गर्ने, नेताले समस्या देखाउने मात्रै होइन । अहिले आर्थिक समस्या छ ।’

‘विदेशी मुद्राको सन्चिती घटिरहेको छ । यो साझा समस्या हो’, उनले भनेका छन् ।

‘यिनै भयानक आर्थिक साझा समस्या समाधान गर्न हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं’, सांसद गुरुङले भने, ‘यस्ता समस्यासँग जुध्नका लागि सत्तापक्ष र प्रतिपक्ष हुँदैन ।’

उनले भने, ‘हामीले विश्वासको मत दिँदा सत्तापक्षका नेताहरूलाई कसैलाई टाउको दुख्ने, कसैलाई पेट दुख्ने, कसैलाई ज्वरो आएको छ ।’

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पदप्रतिको आशक्ति होइन’, उनले भने, ‘भयानक आर्थिक संकट मोचनका लागि हार्दिकताका साथ विश्वासको मत दिएका थियौं । कमजोरी होइन ।’

उनले भने, ‘हरियो बन नेपालको धन भन्यौँ । करोडौंको काठ विदेशबाट आयात गरिएको छ । आफ्नो बनको काठ कुहाएर फालेका छौँ ।’

उनले भने, ‘आर्थिक संकट मोचन गर्ने हो भने सय वर्षभन्दा माथिका काठहरूलाई निकाल्नुपर्छ । सबै बन फडानी गर्नुपर्छ भनेको होइन । सय वर्षभन्दा माथिका रुख कटान गर्ने हो भने नेपाललाई झण्डै १८ देखि ३० खर्ब रुपियाँ आउँछ । ३÷४ महिनामा यो काम गर्नुपर्छ ।’

‘कृषि प्रधानको देश भन्छौँ । स्थानीय तहलाई परिचालन गरेर हाम्रो किसानको उत्पादनलाई अधिकतम प्रयोग गर्ने नीति अहिले तुरुन्तै ल्याउन आवश्यक छ’, गुरुङले भनेका छन् ।

‘किसानले उब्जनी गरेको तरकारी सडकमा फाल्ने अवस्था छ । विदेशबाट तरकारी आयात गरेर स्वदेशको तरकारीलाई विस्थापित गर्नु हुँदैन ।’

उनले भने, ‘गाउँमा बस्ने नेपालीले ज्वरो आउँदा एक ट्याबलेट नपाउने हुन्छ । गरिव नेपालील उपचार खर्चको अभावमा आज पनि हस्पिटलको गेटबाट फर्किनुपर्ने अवस्था छ ।’

‘गरिवले कतै उपचार खर्च लिनुप¥यो भने पालिकाको सिफारिस लेउ भन्छ । पालिकाको सिफारिस पेश गर्दा पनि त्यो फाइल कहिल्यै पास हुँदैन’, उनले भनेका छन् ।

‘नेताहरू बिरामी हुँदा, नेताहरूले उपचार खर्च लिनु पर्‍यो भने पालिकाको सिफारिस चाहिँदैन । पालिकाबाट सिफारिस ल्याउ भन्दैन । गरिबभन्दा गरिब नेपाली जनताले तिरेको करबाट नेताहरूले लाखौँ करोडौं रुपियाँ उपचार खर्चको नाममा पैसा लिनु भ्रष्ट प्रवृत्ति हो’, उनले भनेका छन् ।

उनले भने, ‘विदेशी रक्सी बन्द गरिएको छ । विदेशी मदिरा बन्द गर्दा विदेशी मदिरा भोजभतेरमा हुने गरेको छ । राजश्व पनि गयो । डलर पनि गयो । स्थानीय मदिरालाई गुणस्तरीय बनाएर बिक्री गर्दा आर्थिक अवस्था आउँछ ।’

उनले भ्रष्ट प्रवृत्तिलाई बदल्नका लागि नेता आफै बदलिनुपर्ने बताएका छन् । पटक–पटक व्यवस्था बदले पनि भ्रष्ट व्यवस्था बदल्न नसकेको उनले बताएका छन् । उनले नेताहरूले काम नगरेका कारण जनताले दुःख पाइरहेको बताए ।

नेता र मन्त्रीले सरकारसँग आफू चढ्ने गाडी पुरानो भयो भनेर नयाँ माग्ने परम्पराको आलोचना गरेका छन् । नागरिकता कीर्ते काण्डमा परेर उप–प्रधान तथा गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाडी पुरानो भयो भनेर नयाँ गाडी मागेका थिए ।

Published : Sunday, 2023 February 5, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया