यी हुन् कांग्रेसको गोप्य सूचना शीतल निवास र बालकोट पुर्‍याउने नेता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको गलत सल्लाह र पार्टीभित्रको आन्तरिक गोप्य कुरा शीलत निवास पुर्‍याएका कारण ठूलो राजनीतिक क्षति भएको रहस्य बाहिर आएको छ ।

सभापति शेरबहादुर देउवासँग निकट रहेर पार्टीभित्र काम गर्दै आएका कार्कीले नै सहि सूचना दिन नसक्दा कांग्रेसको हातबाट सत्ता फुत्किएको आरोप छ ।

कार्कीले नै एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत कांग्रेस–एमालेको गठबन्धन बनाउन खोजेका थिए । अन्तिम तयारी पनि भएको थियो । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कांग्रेसलाई भन्दा पनि माओवादीलाई च्यापेर गठबन्धन भत्काइदिए ।

शीतल निवासमा बसेकी राष्ट्रपति भण्डारी र बालकोटमा बसेका एमालेका अध्यक्ष ओलीको रणनीति कांग्रेस नेता कार्कीले बुझ्नै सकेनन् ।

नाताले भण्डारी र कार्की दिदी–भाइ पर्छन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारी मेरो दिदी हो । मैले मिलाउँछु । प्रधानमन्त्री कांग्रेस ठूलो पार्टी भएको नाताले छाड्नु हुँदैन’ भनेर सभापति देउवालाई कार्कीले निरन्तर दवावमा राखे ।

नेता कार्कीको विश्वासमा परेर सभापति देउवा अन्तिम समयसम्म बसे । कार्कीले आफूलाई फसाउँदैछन् भन्ने कुराको भेउ सभापति देउवाले पाउन सकेनन् ।

सभापति देउवाले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाए । आफ्नो कार्यकालमा गलत काम हुन दिएनन् । तर, कार्कीको गलत कुराले देउवालाई राजनीतिक रुपमा कमजोर बनाइदिएको छ । तैपनि देउवाले आफूलाई कम्ब्याक गराउन खोजेका छन् ।

प्रधानमन्त्री पद नपाउने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खानाखाने भनेर बालुवाटारबाट निस्किए । सिधै बालकोट पुगेर सहमति गरे ।

कार्कीले ‘दिदी’को नाम जपेर बालुवाटारमा सभापति देउवालाई गुमराहमा राखिरहे । देउवालाई सबैभन्दा धेरै गुमराहमा राखेर डुबाउने भनेकै नेता कार्की रहेको आरोप कांग्रेसभित्र छ ।

नेता कार्कीमार्फत नै राष्ट्रपति भण्डारीले बालुवाटार र कांग्रेसभित्रको गोप्य सूचनाहरू लिने गरेको आरोप छ ।

यतिसम्मकि कार्कीलाई भोजपुरबाट सुनसरीमा ल्याएर एमालेबाट कमजोर उम्मेदवार दिएर राष्ट्रपति भण्डारीले जिताउन भूमिका खेलेको आरोप पनि छ । कार्कीले भोजपुरमा कहिल्यै पनि जित्न सकेनन् । भोजपुरमा कार्कीले वडा सदस्य पद पनि जित्न नसक्ने भोजपुर कांग्रेसका नेताहरूको भनाइ छ ।

कार्कीलाई कांग्रेसभित्र ‘शकुनी’को आरोप लाग्ने गरेको छ । गोप्य कोठाभित्र बसेर कुन नेतालाई सिध्याउने हो त्यो मात्रै रणनीति बनाउने गरेको आरोप छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनेका बेला कार्कीले गतिलो काम गरेनन् । कांग्रेस समर्थकलाई राम्रो ठाउँ दिन सकेनन् । उनको काम भनेको शीतल निवास र बालकोटलाई खुसी बनाउनेभन्दा केही भएन ।

Published : Wednesday, 2023 January 18, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया