उपेन्द्र यादवलाई छट्पटी हुन थाल्यो, ओली–दाहालसँग यसरी संसद छिर्ने छिद्र खोज्न थाले

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा सहभागी हुन उप–राष्ट्रपति, केन्द्रमा तीन मन्त्रालय र मधेश प्रदेशमा मुख्यमन्त्री पदको माग गरेको छ ।

जसपा समग्र निर्णय गर्नका लागि पुस १६ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले थप निर्णय गर्नेछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग निरन्तर संवादमा छन् ।

अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभामा पराजित भएका थिए । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले नराम्रोसँग हराइदिएका थिए ।

अध्यक्ष यादव उप–निर्वाचनमार्फत सांसद निर्वाचित भएर संसदमा छिर्न खोजेका छन् । संसदमा छिर्नका लागि वातावरण बनाइदिन अध्यक्ष यादवले ओलीलाई निरन्तर आग्रह गरिरहेका छन् ।

प्रत्यक्षबाट निर्वाचित सांसदलाई यादवले उप–राष्ट्रपतिमा पठाउन खोजेका छन् ।

यसैबीच, जसपाको संसदीय दलको नेता पदमा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । रामसहाय अध्यक्ष यादवका विश्वासपात्र हुन् ।

अध्यक्ष यादवको दवाव र रणनीतिमा रामसहाय दलको नेता पदमा सर्वसम्मत भएका हुन् ।

दलको नेता पदका लागि वरिष्ठ नेता समेत रहेका अशोक राई र राजकिशोर यादव आकांक्षी थिए ।

जसपाका १२ सांसद छन् । ती सांसद अधिकांश अध्यक्ष यादवका ‘हनुमान’ छन् ।

नेता राईले रामसहायसँग प्रतिस्पर्धा गरेको भए पराजित हुने सुनिश्चित थियो ।

Published : Thursday, 2022 December 29, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया