नागरिकता र राहदानी कीर्ते काण्डमा रविलाई ३ वर्ष जेल ! अन्य सजाय पनि हुन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद रवि लामिछाने कीर्ते प्रकरणमा झन् फस्ने सम्भावना बढेर गएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत लामिछानेको कीर्ते काण्डमा चासो देखाएपछि लामिछाने र उनका समर्थकलाई तनाब बढेर गएको छ ।

लामिछानेले नेपाली नागरिकता परित्याग गरेर अमेरिकन नागरिकता लिएका थिए । उनले अमेरिकन नागरिकता लिए पनि नेपाली नागरिकता परित्याग गरेका थिएनन् ।

अमेरिकाबाट नेपाल आएर बसेका लामिछानेले पुरानै नागरिकता दुरुपयोग गरेर नेपाली नागरिकले पाउने सुविधा लिएका छन् ।

लामिछानेले त्याग गरेको नेपाली नागरिकता दुरुपयोग गरेर नेपाली राहदानी समेत लिएर कीर्ते काण्ड गरेको अभियोगसहित उजुरी परेपछि लामिछाने फस्ने सम्भावना बढेको हो ।

लामिछानेको नागरिकता र राहदानीको छानविन काठमाडौं जिल्ला प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले निर्वाचन आयोगबाट सभापति लामिछानेले पेस गरेको नागरिकता र अन्य कागजातहरू लिएर अनुसन्धान शुरु गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रहरीलाई आवश्यक कागजातहरू दिएर अनुसन्धानमा सहयोग गरेको बताएका छन् ।

यो विषयलाई निर्वाचन आयोग र अख्तियारले सिधै छानविन तथा अनुसन्धान गर्न पाउँदैनन् ।

लामिछानेले परित्याग गरेको नागरिकता दुरुपयोग गरेर राहदानी दिने कर्मचारीविरुद्ध अख्तियारले अनुसन्धान गरेर हदैसम्मको कारबाही गर्न सक्छ ।

निर्वाचन आयोगले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकताका विषयमा अनुसन्धान गरेर कारबाही गर्ने अधिकार राख्दैन ।

प्रहरीले सभापति लामिछानेको नागरिकता, राहदानी दुरुपयोग र कीर्ते काण्डमा फौजदारी कसूर मानेर अनुसन्धान अगाडि बढाएको छ ।

कानूनी हैसियत गुमाएको पुरानो नेपाली नागरिकताबाट सभापति लामिछानेले सम्पत्ति आर्जन, खरिद, बिक्रीलगायतमा गरिएका कामकारबाहीमा समेत फौजदारीको कसूरमा कारबाही हुन सक्छ ।

राहदानी ऐनको दफा १५ को उपदफा १ (घ) र (ङ) गैरनेपाली नागरिकले राहदानी प्राप्त गरेको प्रमाणित भएमा र झुठ्ठा विवरण पेश गरी राहदानी प्राप्त गरेमा रद्द गर्न सकिने व्यवस्था छ ।

झुठ्ठा विवरण पेश गरी गैरनागरिकले राहदानी लिएमा ऐनको दफा २२ को उपदफा १ अनुसारदुई लाख रुपियाँदेखि ५ लाख रुपियाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

अनुसन्धानका क्रममा दोषी प्रमाणित भएमा यो कानूनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने तीन वर्षसम्म जेलको कालकोठरीमा बस्नुपर्ने अवस्था हुन सक्छ ।

यसका अलावा लामिछानेलाई नागरिकता कीर्ते काण्डमा पनि सजाय हुन सक्छ । प्रहरीले लामिछानेको नागरिकता र राहदानी काण्डमा कीर्ते पुष्टि हुने प्रशस्त आधार र प्रमाणहरू प्रारम्भीक चरणमा पाइएको दाबी गरेको छ ।

यहि आधारमा अनुसन्धानको प्रतिवेदन तयारी पार्ने कार्य अन्तिम चरणमा पुगेको प्रहरी स्रोतको भनाइ छ । लामिछानेलाई प्रतिवेदनमा हदैसम्मको कारबाहीको माग गरिएको छ ।

Published : Thursday, 2022 December 8, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया