महानिर्देशक प्रदीप अधिकारी झुक्न बाध्य भए, गलत हर्कतको लामो सूची बन्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको मनोमानी र ज्यादतीले एकपछि अर्को रेकर्ड बनाइरहेका छन् ।

महानिर्देशक पदमा घुमाउरो तरिकाले छिरेका अधिकारीले मनोमानी गर्न थालेपछि निजी एयरलाईन्सका सञ्चालकहरू दिक्क भएका छन् ।

अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यवसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेका छन् ।

प्राधिकरणले चार महिनाका लागि बाध्यकारी व्यवस्था स्थगित गरिएको सूचना जारी गरेको छ ।

महानिर्देशक अधिकारीले गौतम बुद्ध विमानस्थल चलाउन भन्दै व्यवसायिक उडानका लागि बाध्यकारी निर्देशन दिएका थिए ।

महानिर्देशक अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान कटौती गरिदिएका थिए । अधिकारीका कारण निगमलाई लाखौँ रुपियाँ नोक्सानी भइसकेको छ ।

अधिकारीले तजविजीका आधारमा नेपाली वायुसेवा कम्पनीलाई अक्टोबर १ तारिख र विदेशी वायुसेवा कम्पनीलाई डिसेम्बर १५ तारिखबाट व्यवसायिक उडान गर्नुपर्ने निर्देशन दिएका थिए ।

अधिकारीको बाध्यकारी व्यवस्थाप्रति अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू असन्तुष्ट थिए ।

महानिर्देशक पद फुत्किने अवस्था सिर्जना भएपछि सो बाध्यकारी व्यवस्थालाई अधिकारीले स्थगित गरेका छन् ।

विदेशी अन्तर्राष्ट्रिय कम्पनीको तीब्र विरोधपछि महानिर्देशक अधिकारीले बाध्यकारी व्यवस्था तत्कालका लागि स्थगित गरेका हुन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन १२ अर्ब रुपियाँ ऋण लिइएको थियो । त्यो ऋणबाट बनेको विमानस्थलका आयोजना प्रमुख अधिकारी नै थिए ।

महानिर्देशक अधिकारीका पछिल्लो निर्णयहरू विवादास्पद र आलोचित बनेका छन् ।

अधिकारीले कमिशनको चक्करमा नेपाल वायुसेवा निगमले उडान नगरेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा हिमालय एयरलाइन्सलाई दिने तयारी गरेका थिए ।

निर्णयप्रति पनि भारतले गम्भीर असहमति जनाएको थियो । हिमालय एयरलाइन्समा चिनियाँ लगानी रहेको र उसलाई ग्राउण्ड ह्यान्डलिङ दिने विषय गम्भीर भएको भारतले जनाएको थियो ।

भारतले अहिलेसम्म पनि चिनियाँ लगानीको हिमालयलाई आफ्नो देशमा उडान अनुमति दिएको छैन । भारतको असहमतिसँगै हिमालयले गौतम बुद्धको व्यवसायिक ग्राउण्ड ह्यान्डलिङ जिम्मा दिने तयारी रोकिएको छ ।

महानिर्देशक अधिकारीले सरकारी निकायलाई पनि रुष्ट बनाएका छन् । पर्यटन बोर्डको राजश्व संकलन काउन्टर नै अधिकारीले बलमिच्याइँ गरेर बन्द गराएका थिए । अधिकारीको अहँकारपूर्ण शैलीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च कर्मचारीहरू पनि दिक्क छन् ।

अधिकारीको अहँकारपूर्ण र मनोमानीवाला शैलीमा सुधार भएन भने अब बन्ने नयाँ सरकारले महानिर्देशक पदबाट हटाउनेसम्मको कदम पनि उठाउन सक्छ ।

जति नै शक्तिशाली हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराहरू पनि ढल्नुपरेको थियो ।

यो कुरालाई सरकारी निकायमा बसेका उच्च पदका व्यक्तिहरूले सधैं ध्यान दिनुपर्ने मन्त्रालयका तल्लो तहका कर्मचारीहरूको भनाइ छ ।

Published : Tuesday, 2022 December 6, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया