रवि लामिछानेको पार्टीभित्र भाँडभैलो शुरु, सभापतिलाई नै कारबाहीको माग

काठमाडौं । जन्मिएको करीव ३ महिनाभित्रै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र खटपट शुरु भएको छ ।

रास्वपाका मकवानपुरका सभापति राजकुमार न्यौपानेविरुद्ध कडा आरोप लागेको छ ।

न्यौपानेले चुनावमा नेपाली कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको नेता–कार्यकर्ताले आरोप लगाएका छन् ।

रास्वपाका नेता कार्यकर्ताले सभापति न्यौपानेलाई कारबाहीको माग गरेका छन् ।

न्यौपानेविरुद्ध रास्वपाका वागमतीका कोषाध्यक्ष तथा मकवानपुर– १ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वको टोलीले हस्ताक्षर अभियान चलाएको खुलेको छ ।

पार्टीका ४७ जना नेता–कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते केन्द्रीय कार्यसमितिमा पत्र पठाइएको छ ।

समानुपातिक उम्मेदवार नुरमान प्रजालाई फरक पार्टीको उम्मेदवारसँग विभिन्न प्रलोभनमा पारेको आरोप छ ।

सेटिङबारे प्रमाण रहेको भन्दै नेताहरूले प्रमाणसहित केन्द्रीय समितिमा उजुरी गरिएको जनाएका छन् ।

न्यौपानेले अन्य पार्टीको उम्मेदवारको घरमा पुगेर आफूहरूको समानुपातिक उम्मेदवारलाई चुनावको तीन दिनअघि भेटाउँदा क्षेत्र नम्बर २ मा प्रत्यक्ष उठेका भरत पराजुली पराजित भएको थापाले जनाएका छन् ।

जिल्ला सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने चेतावनी दिइएको छ ।

लामिछानेको पार्टी रास्वपाभित्रको विवाद क्रमशः बाहिर आउन थालेको छ ।

एकाएक चर्चामा आएर केही सिट जितेको रास्वपालाई अमेरिकन पार्टीको आरोप लाग्दै आएको छ ।

Published : Sunday, 2022 December 4, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया