०४८ सालदेखि ओगटेका कांग्रेसका ७० वर्षीय केसीद्वारा पराजयमा ह्याट्रिक, मतदाताले पाठ सिकाए

काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी प्रतिनिधि सभा निर्वाचनमा सोलुखुम्बुबाट पराजित भएका छन् ।

बिहीबार सार्वजनिक अन्तिम मतगणनाको नतिजाअनुसार कांग्रेसका उम्मेदवार केसी एमालेका उम्मेदवार मानवीर राईसँग पराजित भएका हुन् ।

कांग्रेसका उम्मेदवार केसी एमालेका उम्मेदवार राईसँग २७७९ मतको अन्तरबाट पराजित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सोलुखुम्बुमा ४० हजार ३ सय ४४ मत खसेको थियो । एमालेका उम्मेदवार राईले १९ हजार ३ सय २४ मतसहित विजयी भएका छन् ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता केसी १६ हजार ५ सय ४५ मतसहित पराजित भएका छन् ।

सोलुखुम्बुमा सत्तागठबन्धन १५ हजार मतले अगाडि थियो । केसीको अलोकप्रियताका कारण पराजित भएका छन् ।

७० वर्षीय कांग्रेस नेता केसी सातौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनबाट सोलुखुम्बुमा माओवादी केन्द्रले पाउने कि नेपाली कांग्रेसले पाउने भन्ने हानाथाप भइरहेका बेला अन्तिम समयमा सोलुखुम्बुको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको थियो ।

टिकट वितरणको अन्तिम रात गगन थापा र शेखर कोइरालाको दबाबमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमकुमार राईले पाएको टिकट खोसेर प्रतिनिधि सभाको टिकट बलबहादुर केसीले लिएका थिए ।

नेपाली कांग्रेसको जिल्ला समितिले पार्टीका केन्द्रीय सदस्य आङगेलु शेर्पाको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको थियो । केसीलाई समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

कांग्रेस नेता केसीले आफ्नै पार्टीको निर्णय विपरित माओवादी समेतलाई चिढ्याएर टिकट खोसेर ल्याएका थिए ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता केसीले यो पटक हारमा ह्याट्रिक गरेका छन् ।

कांग्रेसका मतदाता सहरबाट गाउँमा नजानुदेखि सामाजिक संजालमा चलेको ‘नो नट अगेन’ अभियान र एमालेले चलाएको पुस्तान्तरणको अभियानले कांग्रेस नेता केसी पराजित हुन पुगेका छन् ।

युवाहरूले सामाजिक सञ्जालमा कांग्रेस नेता केसीको फोटोसहितको ब्यानर राखेर भोट नहाल्न अपील गरेका थिए ।

सोलुमा ०४८ सालदेखि एउटै व्यक्तिलाई चार पुस्तासम्मले भोट हाल्नु पर्ने स्थिति विद्यमान थियो ।

केसीलाई कांग्रेसको जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ चुनाव जित्न नसक्ने भन्दै समानुपातिकमा सिफारिस गरेको थियो ।

केसीले जबर्जस्ती प्रत्यक्षमा टिकट ल्याउनु पनि हारको कारण रहेको बताइएको छ ।

पराजित भएपछि कांग्रेस नेता केसीले अन्तरघातले हार्नुपरेको टिप्पणी गर्न थालेका छन् । आफ्नै कारणले पराजित भएपछि केसीले नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नामगेल जाङ्बु शेर्पा र केन्द्रीय सदस्य आङ्गेलुले असहयोग गरेको कारण हार्नुपरेको आरोप लगाउन थालेका छन् ।

Published : Thursday, 2022 November 24, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया