रवि लामिछानेले चितवन २ लाई मात्र होइन यस कारण देशभरिका जनतालाई ‘भेँडा’ बनाए

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोहोरो नागरिकता लिएको विषयमा परेको उजुरीमा स्पष्टीकरण सोधेको छ ।

लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै आयोगको जिल्ला कार्यालय चितवनमा उजुरी परेको छ । आयोगले त्यसपछि लामिछानेलाई स्पष्टीकरण सोधिएको हो ।

उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको छ ।

सोहीबमोजिम एक साताको समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।

‘तपाईंविरुद्ध आयोगमा उजुरी परेको छ । के तपाईंलाई लागेको आरोप सत्य हो ? यदि सत्य हो भने तपाईंको उम्मेदवारी आयोगले खारेज किन गर्नुनपर्ने ? स्पष्ट प्रमाणसहित एक साताभित्र स्पष्टीकरण पेस गर्नुहोला’ भन्ने व्यहोरासहितको स्पष्टीकरण आयोगले सोधेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको आरोप छ ।

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग राखेर राजकुमार पाण्डेले मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार लामिछानेको सचिवालयलाई स्पष्टीकरणपत्र बुझाइएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट पार्टीका जिल्ला सचिव कृष्णप्रसाद भुसालमार्फत लामिछानेले फोटोकपीसहित उजुरीपत्र बुझेका छन् ।

लामिछानेबाट स्पष्टीकरण प्राप्त भएपछि निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौंमा पठाइनेछ ।

आयोगले निर्णय नगर्दासम्म लामिछानेको उम्मेदवारी यथावत् रहनेछ ।

निर्वाचनपछि आयोगले उम्मेदवारी खारेज गर्न पनि सक्छ । निर्वाचन हुन चार दिन बाँकी रहेकाले लामिछानेले निर्वाचनपछि पनि स्पष्टीकरण दिन सक्नेछ ।

उता, सभापति लामिछानले आफ्नो नागरिकतासम्बन्धी विवाद चार वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् ।

आफूमाथि परेको उजुरीबारे स्पष्ट पार्न भन्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका छन् ।

‘उजुरी पर्नु ठूलो कुरा होइन । निर्वाचन आयोगमा जवाफ मैले दिनुपर्छ । दिन्छु’, लामिछानेले भनेका छन् ।

चार वर्षअघि प्रेस काउन्सिलमा उजुरी परेपछि सन् २०१८ मा स्पष्टीकरण बुझाएको पनि उनले बताएका छन् ।

निर्वाचन कार्यालयमा उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाणपत्र पेस गरेका छन् ।

नेपालको नागरिकतासम्बन्धी कानूनअनुसार उनले अमेरिकी नागरिकता लिएलगत्तै नेपाली नागरिकता खारेज भइसकेको थियो ।

लामिछाने नेपाली कांग्रेसका नेता एवं राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका नेता कृष्णभक्त पोख्रेललगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

लामिछानेले नागरिकताको विवाद सन् २०१८ मा नै सल्टिएको दाबी गरेका छन् । सोही आधारमा आफूले आत्महत्या दुरुत्साहनको मुद्दामा सफाइ पाएको पनि उनको दाबी छ ।

लामिछानेले नागरिकता विवाद सल्टाएको दाबी गरे पनि त्यो विवाद कसरी सल्टिएकोबारे केही उल्लेख गरेका छैनन् ।

नेपालको प्रचलित नागरिकतासम्बन्धी कानुनहरूलाई हेर्दा उम्मेदवार लामिछानेमाथि केही प्रश्न उठेका छन् ।

लामिछानेले भनेका छन्, ‘अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता त्याग गरेको छैन । खाली मैले आफ्नो नागरिकता बुझाएर एनआरएन कार्ड लिन सकिन्थ्यो । त्यो मैले किन बुझाइन त्यो कुरा मैले स्पष्ट पारेको छँदैछु ।’ त्यो कहाँ स्पष्ट पारेका छन् भन्ने फेसबुक लाइभमा खुलाएका छैनन् । ४ वर्षअघि सीधा कुरा जनतासँग कार्यक्रममा पनि आफूले नेपाली नागरिकता नत्यागी अमेरिकाको नागरिकता लिएको बताएका थिए ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१)मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ ।

नेपाल नागरिकता नियमावली, २०६३ ले विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसपछि त्यस्तो व्यक्तिको नागरिकता खारेज भएको अभिलेख सम्बन्धित जिल्ला प्रशासन कार्यालयले राख्ने व्यवस्था छ ।

लामिछानेले अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता फिर्ता नगरेको र कानूनी प्रक्रियामा नै नगएको स्वीकारेका छन् ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको बारम्बार दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले प्रक्रिया सुरु गर्नका लागि आवश्यक दस्तुर २ हजार तीनसय ५० अमेरिकी डलर सन् २०१८ मा तिरेको रसिद पनि सार्वजनिक भएको छ । तर, अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन त्यसको प्रमाण सार्वजनिक गरेका छैनन् ।

अमेरिकी कानूनअनुसार संयुक्त राज्य अमेरिकाको नागरिकता परित्याग गर्न चाहेको व्यक्तिले इमिग्रेसन एन्ड नेसन्यालिटी एक्टको सेक्सन ३४९ (ए)(५) तथा ‘७ फरेन अफियर्स म्यानुअल १२६०’ अनुसारको प्रक्रिया पूरा गरेको हुनुपर्छ ।

अमेरिकी नागरिकता त्याग गर्न चाहेको व्यक्तिले त्यहाँको कानुनले तोकेको विभिन्न प्रकारका फारम भरेर आधिकारिक व्यक्तिको अगाडि नागरिकता त्याग गरेको शपथ लिनुपर्ने हुन्छ ।

नागरिकता त्याग्न चाहेको व्यक्तिलाई अमेरिकी अधिकारीले नागरिकता त्याग गर्दा आइपर्ने समस्याहरूका बारेमा सम्पूर्ण रूपमा जानकारीसमेत गराउँछन् । अमेरिकी नागरिकता त्याग गर्न चाहेमा सो व्यक्तिले आफू रहेको देशमा भएको अमेरिकी दूतावासका अधिकारी समक्ष निवेदन दिनसक्ने व्यवस्था रहेको छ । यही व्यवस्थाअन्तर्गत उनले काठमाडौंस्थित अमेरिकी दूतावासमा निवेदन दिएको दाबी गरेका छन् ।

नागरिकता त्याग गर्न चाहेका व्यक्तिको विभिन्न चरणमा आधिकारिक निकायका अधिकारीले अन्तर्वार्ता समेत लिन्छन् । यस्तै नागरिकता त्यागपत्रमा दुईजना साक्षीले समेत सम्बद्ध अमेरिकी अधिकारीसमक्ष हस्ताक्षर गर्नुपर्छ ।

नागरिकता त्याग गरेका व्यक्तिलाई सो प्रक्रियामा भरिएका र हस्ताक्षर गरिएका सबै कागजपत्रका साथै उनले नागरिकता त्याग गर्न दिएको निवेदन स्वीकृत भएको प्रमाणपत्र आधिकारिक ठेगानामा पठाइन्छ । यो सबै प्रक्रिया पूरा गर्नका लागि नागरिकता त्याग गर्न चाहेका व्यक्तिले निश्चित रमकसमेत बुझाउनुपर्ने नियम छ ।

अमेरिकी कानुनअनुसार अमेरिकी नागरिकता त्याग गरेपनि त्यहाँ कानूनसम्मत रूपमा दर्ता भएका अभियोग र कर सम्बन्धी प्रावधानबाट भने त्यस्ता व्यक्तिले नागरिकता त्याग गरिसकेको अवस्थामा उन्मुक्ति पाउने अवस्था भने रहँदैन ।

लामिछानेले नयाँ नेपाली नागरिकता प्राप्त गर्नका लागि नेपालको कानूनअनुसार प्रक्रिया पूरा गरेका छन् कि छैनन् ? कि पुरानै नागरिकताकै आधारमा निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ?

नेपालको कानूनअनुसार विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ । विदेशी नगारिकता त्याग गरेर पुनः नेपाली नागरिकता लिन चाहेमा पनि निश्चित कानूनी प्रक्रिया पूरा गर्नेपर्ने प्रचलित कानूनको व्यवस्था छ । नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

नेपाली नागरिकता पुनः प्राप्त गर्ने थप कार्याविधि नेपाल नागरिकता नियमावली, २०६३ मा छ । पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधिका दुई प्रक्रिया छन् । नियमावलीको नियम ११ (१)को व्यवस्था छ, ‘नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।’

पुनः नेपाली नागरिकता पाउँ भनेर निवेदन परेपछि सम्बन्धित अधिकारीले नयाँ नागरिकता प्रमाणपत्र जारी गर्ने उपनियम २ मा व्यवस्था छ ।

रवि लामिछानेले फेसबुक लाइभमा अदालतसहितका विभिन्न सरकारी निकायबाट नागरकिताको विषयमा सफाइ पाएको दाबी गरेका छन् ।

लामिछानेले २०७६ साउन २० मा आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा पनि नागरिकताकै आधारमा सफाइ पाएको दाबी गरेका छन् ।

आत्महत्या गर्नपूर्व पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भनेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसको आधारमा लामिछानेलाई आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थिए । उक्त प्रकरणमा लामिछाने पक्राउ पनि परेका थिए । जिल्ला अदालत चितवनले उनलाई सफाइ दिएको थियो ।

रविले उक्त मुद्दामा सफाइ पाउनको आधार नागरिकता पनि रहेको दाबी गरेका छन् ।

‘चार वर्ष अगाडि नै वैधाानिक रूपमा सेटल गरिसकेको विषय हो । त्यसै, आधारमा अदालतका निर्णय छन्’, लामिछानेले भनेका छन्, ‘ममाथि दुरुत्साहनको मुद्दा पर्दाखेरि त्यसै आधारमा विभिन्न ठाउँमा पुगेका छौं । त्यसै आधारमा मैले सफाइ पाएको छु । त्यसै आधारमा महान्यायाधिवक्ता कार्यालय पुगेको छु ।’

तर, चितवन जिल्ला अदालतमा लामिछानेलगायत माथिको दुरुत्साहनको मुद्दा फैसला गर्ने तत्कालीन जिल्ला न्यायाधीश हेमन्त रावलले दिएको आदेशमा रवि लामिछानेको नागरिकताबारे केही उल्लेख गरिएको छैन ।

लामिछानेको नागरिकताको विवाद २०७५ सालमा पनि आएको थियो । त्यतिबेला लामिछानेले आफूले अमेरिकी राहदानी, अमेरिकी नागरिकता र अमेरिकी राष्ट्रियता फिर्ता बुझाएको दाबी गरेका थिए ।

स्वतन्त्र राष्ट्रिय पार्टीका सभापति लामिछानेले चितवन क्षेत्र नं. २ का मतदाता मात्रै होइन देशभरिका मतदाता र जनतालाई भेँडा सम्झिएका छन् । लामिछानेले अरु नेतालाई गाली गलौज गरेर आफू सतिसावित्री बन्न खोजेका छन् । लामिछानेले आफ्नो शरीरभित्रको भैँसी पनि नदेख्ने उदाहरण दिएका छन् । लामिछानेले चितवन क्षेत्र नं. २ का मतदातालाई भेँडा सम्झिने जुन दुश्साहस गरेका छन् त्यो गलत छ । आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको छ । छिटै उचित निर्णय लिनेछ ।

Published : Thursday, 2022 November 17, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया