दशैंको मुखमा प्रदीप अधिकारीलाई दशा लाग्यो, अख्तियारले कठालोमा हातहाल्यो, पद फुत्किने सम्भावना

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका बारेमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय प्रक्रिया बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीविरुद्ध अख्तियारमा लिखित उजुरी परेपछि मन्त्रालयमार्फत राय प्रतिक्रिया उपलब्ध गराउन भदौ १३ गतेको पत्रमा उल्लेख छ ।

अख्तियारको दर्ता चलानी नं. ८९९५ नम्बरको पत्रमा भनिएको छ, ‘यस आयोगमा दर्ता भएको उ.द.नं. सी–०१०६७२ मिति २०७९/०५/१२ को उजुरीका सम्बन्धमा छानबिन गरी ७ दिनभित्र राय प्रतिक्रिया उपलब्ध गराउन मिति २०७९/०५/१३ को निर्णयानुसार उजुरीको छायाँप्रति यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुसारेध छ ।’

महानिर्देशक बन्न अधिकारीले करोडौं बुझाएर पदमा बहाल रहेको आरोप अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

रिपब्लिका दैनिकलाई प्राप्त अख्तियारले पर्यटन मन्त्रालयलाई काटेको पत्र र उजुरीमा अधिकारीका कर्तुतहरू उल्लेख छन् । अधिकारीका कर्तुतहरू ६ वटा बुँदामा रहेका छन् ।

अधिकारीले महानिर्देशक बन्दा खर्च भएको रकम उठाउन टर्मिनल भवन, रनवे, एयरपोर्ट निर्माण लगायतका कार्य गरेर कमिशनबाट असुल उपर गर्ने हर्कत गरिरहेको अख्तियारमा परेको पत्रमा उल्लेख छ ।

अख्तियारलाई अधिकारीका विषयमा राय प्रतिक्रिया मन्त्रालयले अख्तियारलाई बुझाएपछि अनुसन्धान हुनेछ ।

महानिर्देशक अधिकारका विषयमा अख्तियारले फाइलहरू झिकाएर अनुसन्धान गर्न सक्नेछ । अख्तियारले अधिकारीमाथि सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाउन प्राधिकरणका कर्मचारीहरूको माग छ ।

अधिकारीविरुद्ध प्रमाणहरू पाइएमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न सक्छ । मुद्दा दायर भएमा अधिकारी महानिर्देशक पदबाट निलम्बनमा पर्न सक्छन् । त्यो अवस्थामा उनलाई ठूलो घाटा र नोक्सानी हुनेछ ।

अधिकारीको सम्पत्तिको छानविनको पनि माग उठ्दै आएको छ । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भएर काम गरेका अधिकारीले त्यो बेला पनि अकुत कमाइ गरेको आरोप छ ।

अख्तियारमा अधिकारीविरुद्ध परेको उजुरीका बुँदाहरू क्रमशः सार्वजनिक गरिनेछ ।

अधिकारीविरुद्ध अख्तियारले खुट्टा नकमाएर अनुसन्धान गर्नुपर्ने माग छ । अख्तियारका प्रमुख आयुक्त प्रेम राई छन् । राई लोभलालचमा नपरेर कार्यसम्पादन गर्ने सीमित उच्च तहका व्यक्तिमा नाम लिइन्छ ।

अधिकारी सामान्य व्यक्ति होइनन् । उनीसँग असीमित पावर छ । आफना विरोधी र उजुरीहरूलाई समयमा ठेगान लगाउन सक्ने हैसियत राख्छन् । अधिकारीलाई अख्तियारले यस पटक छाड्छ वा अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउँछ हुेर्न बाँकी छ ।

Published : Friday, 2022 September 30, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया