मञ्जुले कांग्रेसमा गरेको काम, धेरै पटक कुटाइ खाएको र थुनिएको किन नदेख्ने ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाणको अहिले सामाजिक सञ्जाल र केही समाचार माध्यमहरूले आलोचना गरिरहेका छन् ।

मञ्जुलाई कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा राखेपछि आलोचना भएको हो । मञ्जुले नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघ र प्रजातन्त्रका लागि पटक/पटक भएका आन्दोलनमा सडकमा उत्रिएर गरेका कार्य कसैले देखेनन् । त्यस बेला मञ्जुलाई सडकमा उत्रिएर प्रजातन्त्रका लागि गरेको योगदान स्मरण गर्ने फुर्सद भएन ।

२०६२/६३ को दोस्रो जनआन्दोलनका बेला काठमाडौंका सडकहरूमा चारतारे झण्डा बोकेर मञ्जु बाक्लै देखिने गरेकी थिइन् । पटक/पटक उनी पक्राउ पर्नुका साथै प्रहरीको लाठी खाने महिला नेतृको सूचीमा मञ्जु अग्रपंक्तिमा पर्छिन् ।

नेपाल महिला संघको महासचिव हुँदासम्म मञ्जुका बारेमा कसैले पनि आलोचना वा समर्थन गर्ने फुर्सद पाएनन् । किन भने त्यो पद आकर्षणको छैन ।

मञ्जुले कांग्रेसको १४औं महाधिवेशनमा प्रतिस्पर्धा गरेर केन्द्रीय सदस्यमा निर्वाचित भइन् । त्यस बेला पनि मञ्जको आलोचना भएन ।

जब कांग्रेसले मञ्जुको नाम प्रतिनिधि सभातर्फ समानुपातिकमा राख्यो, अनि विरोध भइरहेको छ ।

मञ्जुले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा गरेको योगदान र कांग्रेसको संगठन निर्माणमा गरेको कार्य कसैले देखेन । जब अबसर पाउने समय आयो मञ्जुको नाम सूचीमा राखेको देखेर विरोध हुन थाल्यो ।

मञ्जु कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन् । यो उनको दोष होइन । पत्नी भएकै कारण मञ्जुले राजनीति गर्न नहुने वा अवसर लिनै नपाउने हो र ? कदापि होइन ।

मञ्जुले कांग्रेसको राजनीति आफ्नै बलबुताले गरेकी हुन् । बालकृष्णले उनलाई ‘क्रेन’ लगाएर तानेर ल्याएका होइनन् । यदि बालकृष्णले मञ्जुलाई सांसद वा अन्य लाभको पद दिनु थियो भने धेरै पहिला दिन सक्थे । त्यो हैसियत भएका नेता पनि हुन् ।
तर, बालकृष्णले कहिल्यै पनि आफ्नी पत्नी मञ्जुलाई लाभको पद दिएनन् । सिफारिस पनि गरेनन् ।

मञ्जु अहिले सांसदको समानुपातिकमा सिफारिस हुनु उनको आफ्नै बलबुता र क्षमताले हो । मञ्जु कांग्रेसले चलाएका अभियानहरूमा केन्द्रीय प्रतिनिधि भएर पनि जिल्लाहरूमा गएकी थिइन् । त्यो कुरा आलोचना गर्नेहरूले स्मरण गर्नु पर्दैन ?
कांग्रेसका केही पदाधिकारीहरूले आफ्नालाई कुन हदसम्मको अवसर दिएका छन् समयले देखाउँदै लैजानेछ ।

Published : Wednesday, 2022 September 28, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया