भण्डारीको हर्कत उग्र भइरहेका बेला सुरक्षा निकायका प्रमुखहरूको बैठक जंगी अड्डामा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखहरूबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर छलफल भएको छ ।

बिहीबार नेपाली सेनाको जंगी अड्डा, भद्रकालीमा सुरक्षा निकायका प्रमुखहरूबीच गम्भीर परामर्श भएको हो ।

‘आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा बिहीबार प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको छ’, सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समीक्षा भएको थियो ।

विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको विज्ञप्तिमा उल्लेख छ ।

छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरूबीच प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरूमा समेत छलफल भएको थियो’, सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई लिएर विभिन्न खालका अड्कलबाजी भइरहेका बेला सुरक्षा निकायका प्रमुखहरूको बैठक जंगी अड्डामा भएको छ ।

एमालेको उक्साहटमा असंवैधानिक कदम उठाएकी भण्डारीका कारण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रभावित हुने हो कि भनेर आरोप पनि लागेका छन् ।

राष्ट्रपति भण्डारीलाई एमालेले उकासेर असंवैधानिक कदम उठाउन लगाएको आरोप छ ।

Published : Thursday, 2022 September 22, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया