कार्यसम्पादन कमजोर भएका ‘हुतिहारा’ यी ६ सीडीओहरूको सरुवा हुने

काठमाडौं । निर्वाचनको मुखमा कार्यसम्पादन कमजोर भएको भन्दै सरकारले ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको सरुवा गर्ने तयारी गरेको छ ।

उच्च स्रोतका अनुसार सरकारले झापा, मोरङसहितका ६ जिल्लाका सीडीओहरू फाल्न लागेको हो ।

यसअघि सरकारले कार्यसम्पादनमा कमजोर ठहरिएका सप्तरीसहितका जिल्लाहरूको सीडीओ परिवर्तन गरिसकेको छ ।

उच्च स्रोतका अनुसार बाँकेका सीडीओ सूर्यबहादुर केसी, बाराका सीडीओ कृष्ण कटुवाल, पार्सका सीडीओ उमेश ढकाल, झापाका सीडीओ झाविलाल रिजाल, मोरङका सीडीओ काशिराज दाहाल र सुनसरीका सीडीओ ईन्द्रदेव यादवलाई गृह मन्त्रालयले सरुवा गर्न लागेको छ । हुन त यी सीडीओहरूमध्ये केहीको १ वर्ष कार्यकाल पूरा पनि भएका छन् ।

निर्वाचनको मुखमा सीडीओहरूले शान्ति सुरक्षा र निर्वाचनको तयारीका विषयमा राम्रो काम गर्न नसकेको गुनासाहरू आएपछि गृह मन्त्रालयले हुतिहारा सीडीओहरूलाई तानेर सक्षम सीडीओहरू पठाउने तयारी गरेको बुझिएको छ ।

यसअघि गृह मन्त्रालयले सप्तरीसहितका केही जिल्लाहरूको सीडीओ सरुवा गरिसकेको छ ।

सरकारले मंसिर ४ गतेको निर्वाचनमा शान्ति सुरक्षामा कुनै पनि कसर बाँकी नराखेर तयारी गरिरहेको छ । कार्यसम्पदन गर्न नसक्ने कर्मचारी र सुरक्षा निकायलाई तानेर नयाँलाई पठाएर सरकारले काम गर्ने रणनीति बनाएको छ ।

Published : Thursday, 2022 September 22, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया