भण्डारीले संविधानलाई लात हानेपछि शीर्ष नेताद्वारा आलोचना, सचेत रहन नागरिकसँग अपील

काठमाडौं । नेपाली कांग्रेससहित ४ दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाविरुद्धको हर्कत भनेर कठोर आलोचना गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको ४ दलका शीर्ष नेताहरूको बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीको कदमविरुद्ध सचेत रहन आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, संचार जगत लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यो बैठक आह्वान गर्दछ ।’

विज्ञप्तिमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहीत सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ’, ४ दलले भनेका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथिनै प्रहार गरेको चार दलका शीर्ष नेताहरूले जनाएका छन् ।

राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको चार दलले उल्लेख गरेका छन् ।

एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले राष्ट्रपति पदमा बसेर संविधानको रक्षा गर्नुपर्नेमा उल्लंघन गरेपछि सबैतिरबाट आलोचना भएको छ ।

Published : Wednesday, 2022 September 21, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया