नजरबन्दबारे ओली र चालेन्द्रकी छोरीको आरोपको गृह मन्त्रालयद्वारा खण्डन

काठमाडौं । गृह मन्त्रालयले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई सरकारले नजरबन्दमा राखेको भनेर एमालेका अध्यक्ष खड्गप्रसाद ओली र परिवारबाट आएका टिकाटिप्पणीको खण्डन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव फणिन्द्रमणि पोखरेलले जबरालाई सरकारी निवासमा सुरक्षा दिएको विषयलाई अन्यथा लिन नहुने बताए ।

सरकारले निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई नजरबन्दमा राखेको भनेर आरोप लागेको छ नि ? भन्ने प्रश्नको जवाफमा गृह मन्त्रालयका प्रवक्ता पोखरेलले भने, ‘थाहा भएन मलाई त ।’

जबरालाई नजरबन्दमा राखेको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘होइन–होइन ।’

जबराको सरकारी निवासमा सुरक्षाकर्मी थिए नि ? भन्ने जिज्ञासामा पोखरेलले भने, ‘सुरक्षाकर्मी सधैं हुन्छन् । आज मात्रै होइन, सधैं थिएन र उहाँकोमा ? पहिला सुरक्षाकर्मी थिएनन् र अहिले गएको हो भने तपाईले भने जस्तो हुन सक्छ । उहाँ सधैँ सुरक्षाघेरामा बस्ने मान्छे हो ।’

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई शनिबार राति सभामुखलाई प्रतिवेदन बुझाएर महाअभियोग लगाउन सिफारिस गरेको छ ।

सिफारिसपछि जबराले आफू आइतबार सर्वोच्च अदालत गएर जिम्मेवारी सम्हाल्ने जनाएका थिए ।

आइतबार सर्वोच्च अदालत र जबराको सरकारी निवासमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सोही विषयलाई लिएर प्रमुख विपक्षी दल एमालेका अध्यक्ष ओलीले जबरालाई नजरबन्दमा राखेको टिप्पणी गरेका थिए ।

जबराकी छोरी सुनिधी राणाले भनेकी छिन्, ‘हामीहरूलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । बाहिर निस्कन र भित्र जान सक्ने हाम्रो कन्डिसन छैन ।’

‘उहाँहरूले पावर देखाएर हामीलाई यस्तो गरिराख्नु भएको छ । एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ ।’

सुनिधीले भनेकी छिन्, ‘सरकार हाम्रोविरुद्धमा लागेको छ । हाम्रो हातखुट्टा नै बाँधिराखेको अवस्था छ ।’

‘यस्तो बेलामा हामी के गर्न सक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरूसँग हो’, उनले भनेकी छिन्, ‘हामीले बिन्ति गरेका छौं उहाँहरूसँग । उहाँहरूले के सही हो, के गलत हो, छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आई दिनु प¥यो । अब घरमा बसेर, सोसल मिडिया हेरेर, म्यासेन्जरमा स्क्रोल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन ।’

प्रहरीले जबरामाथि हुन सक्ने सम्भावित आक्रमण वा अप्रिय घटना हुन नदिन सुरक्षा बढाएको विषयलाई लिएर ओलीले धमिलो पानीमा माछा मार्ने गरेर टिप्पणी गरेका छन् । जबरालाई सुरक्षा नदिने हो भने कसैले आक्रमण गर्दाको अवस्था के हुन्छ ओलीलाई जानकारी हुनुपर्छ ।

जबराकी छोरी सुनिधीले पनि प्रहरी र सरकारलाई लगाएको आरोपका विषयमा गम्भीर भएर ध्यान दिनुपर्छ । जबरालाई दिएको सुरक्षालाई आफू अनुकूल आरोप र ब्याख्या गर्नु उचित होइन ।

Published : Sunday, 2022 September 18, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया