परिवारभित्र बबाल भएपछि अग्नि सर्वसम्मत हुन सकेनन्, डरले माओवादीको खुट्टा काम्यो

बाह्रबिसे । माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको टिकटमा आफ्नै परिवारभित्रबाट बबाल भएपछि सर्वसम्मत र एकल सिफारिस हुन नसकेको रहस्य बाहिर आएको छ ।

आफ्नै भतिजाले टिकटमा रहर गरेपछि माओवादीको क्षेत्रीय कमिटीले सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट अग्निको नाम एकल र सर्वसम्मत रुपमा पठाउन नसकेको स्रोतले जनाएको छ ।

माओवादीका एक नेताका अनुसार अग्नि सापकोटाका आफ्नै भतिजा एवम् केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले पनि प्रत्यक्षतर्फ दाबी गरेपछि सर्वसम्मत हुने बाटो बन्द भएको थियो ।

स्रोतको दाबीअनुसार– सुवोधले अग्निको नाम नै काटेर आफ्नो मात्रै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पठाउन खोजेका थिए । तर, अग्निले सो कुरा चाल पाएपछि भतिजा सुवोधको सातो लिएर झपारेका थिए । अग्निले सातो लिएपछि सुवोधले अग्नि र आफ्नो तथा महिला नेतृ पुलमा तामाङको नाम टिकटमा सिफारिस गरेका छन् ।

आफ्नै परिवारको विरोधका कारण सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट सर्वसम्मत हुन नसकेका अग्नि सापकोटाले पुनः टिकटमा दाबी गरिरहेका छन् । यस विषयमा सिन्धुपाल्चोक माओवादीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

सो क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत एकल रुपमा सर्वसम्मत सिफारिस भएका छन् ।

नेता बस्नेतले क्षेत्र नं. १ लाई कांग्रेसको बलियो किल्ला बनाएका छन् । कांग्रेसले ज्यान गए पनि यस पटक क्षेत्र नं. १ कुनै पनि हालतमा छाड्ने पक्षमा छैन । सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसका लागि सबैभन्दा सुरक्षित र भरपर्दो क्षेत्र मानिएको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने पनि माओवादी निकै कमजोर छ । गठबन्धन भयो भने पनि कांग्रेसको सबै मत माओवादीलाई दिँदा समेत माओवादीले जित्ने कुनै छाँटकाट छैन ।

Published : Tuesday, 2022 September 6, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया