रक्षाबन्धनले राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि हुन्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार रक्षाबन्धन, जनैपूर्णिमा एवम् नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा शुभकामना जारी गर्दै देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने बताएका छन् ।

उनले नेवाः संस्कृतिमा गुंपुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीले एकापसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको बताएका छन् ।

वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवारी समुदाय रहेका विभिन्न ठाउँमा मनाउने गरिन्छ ।

Published : Friday, 2022 August 12, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया