देउवा निकटका व्यक्तिमाथि महेश बस्नेतको हमला

काठमाडौं । एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरू गरेको आरोप लगाएका छन् ।

‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरू कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘हार्दिक माग गर्न चाहन्छु ।’

बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास गरेको आरोप खातीमाथि लगाएका छन् ।

बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास गरेको आरोप पनि खातीमाथि एमालेका नेता बस्नेतले लगाएका छन् ।

उनले भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्याधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाएका छन् ।

महान्यायाधिवक्ता खाती प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । देउवालाई कमजोर बनाउन एमालेका नेता बस्नेतले खातीमाथि निशाना लगाएका छन् ।

Published : Wednesday, 2022 August 10, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया