कांग्रेसद्वारा एक सय सिटमा दाबी, कार्यदलको संयोजक बने सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ ।

सोमबार बालुवाटारमा बसेको कार्यदलले बैठक संयोजन गर्नका लागि नेता सिटौलालाई संयोजक तोक्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

कार्यदलको अर्को बैठक साउन २६ गते साँझ ४ बजे बस्नेछ ।

कार्यदलमा कांग्रेसबाट नेता सिटौला, मन्त्री कार्की र महामन्त्री गगन थापा रहेका छन् । माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा सदस्य रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ ।

प्रतिनिधिसभामा कांग्रेसले कम्तीमा १०० सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् । सिट बाँडफाँटको बारेमा छलफल गरेर संख्या तय गरेर शीर्ष बैठकमा बुझाइनेछ ।

Published : Monday, 2022 August 8, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया