यी रुन्चे पूर्वमन्त्रीलाई ठाउँमा कसरी ल्याउने ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै नेतृ रामकुमारी झाक्रीले सातो लिएर जथाभावी बोल्न थालेपछि सबैको ध्यान तानिएको छ ।

मन्त्री पदबाट हटाएपछि रुष्ट बनेकी झाक्रीले अध्यक्ष नेपालको खोइरो खनेर आलोचनामा उत्रिएकी छिन् । सार्वजनिक कार्यक्रमहरूमै झाक्रीले अध्यक्ष नेपालको आलोचना गरेपछि एकीकृत समाजवादी पार्टीभित्रको विवाद बाहिरसम्म देखिएको हो ।

नेतृ झाक्रीले एउटा अन्तरवार्तामा अध्यक्ष नेपालको आलोचना गरेकी थिइन् । त्यो आलोचनाले हँगामा भएको छ ।

रौतहटमा अध्यक्ष नेपालले शिलान्यास गरेको योजनामाथि प्रश्न उठाएकी छिन् । झाक्रीले भनेकी छिन्, ‘हिजो उहाँले गौरमा गरेको शिलान्यास न बजेट छ, न कार्यक्रम छ, न स्रोत सुनिश्चितता छ, न टेण्डर आह्वान भएको छ ।’

‘उहाँ दुई/दुई वटा धर्मशाला र सभाहलको शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन’, झाक्रीले भनेकी छिन्, ‘बजेटमा कार्यक्रम पनि छैन । ठेक्का पनि लगाएको छैन ।’

उनले भनेकी छिन्, ‘ठेक्का प्रक्रिया पनि सुरु भएको छैन । अर्थले सुनिश्चितता पनि दिएको छैन ।’

‘कुन स्रोतबाट काम गर्ने भन्ने थाहा पनि छैन । तर, उहाँले शिलान्यास गर्नुभयो । कुरो त उही भएन र भन्या ?’, अध्यक्ष नेपालसँग प्रश्न गर्दै झाक्रीले भनेकी छिन् ।

सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रालयले गर्ने रौतहट जिल्लाको गौर बोर्डर टाउनमा सहरी पूर्वाधार निर्माण, गौर सभाहल र राम जानकी विवाह मण्डपका लागि बहुवर्षीय योजनाका रूपमा २८ करोड छुट्ट्याएको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि ७ करोड छुट्ट्याएकोमा आर्थिक वर्ष २०८०/०८१ का लागि २१ करोड छुट्ट्याइएको छ ।

गौर नगरपालिका क्षेत्रभित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि १२ करोड रुपियाँ बस्ती विकास कार्यक्रम अन्तर्गत राखिएको छ ।

राजदेवी नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि ५ करोड रुपियाँ विनियोजन गरिएको विवरण मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्री पद फुत्किएपछि निकै तनाव र हतोत्साहित रहेकी झाक्रीले आफ्नै पार्टीका अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिएपछि उनी एकीकृत समाजवादी छाड्न लागेकी हुन् कि भन्ने आशंका जन्मिएको छ ।

शहरी विकास मन्त्री रहेका बेला जिन्सको पाइन्ट लगाएर पिएसओ लिएर हिँडेपछि झाक्रीको आलोचना भएको थियो । आफ्नो पदीय मर्यादा र जिम्मेवारी सम्हाल्न नसकेको भनेर उनको आलोचना भएका थिए ।

मन्त्री हुँदा कमिशन र बिचौलिया ठेकेदारलाई काखी च्यापेर अकुत कमाइ गरेको आरोप पनि छ । राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्ट्रक्सनलाई बागमतीको ठूलो ठेक्का दिएर कमिशन पनि कुम्ल्याएको आरोप झाक्रीलाई छ ।

पूर्व शहरी विकासमन्त्री झाक्रीले अहिले पनि मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह, शहरी विभागमा रहेका एकजना सह–सचिव र मन्त्रालयमै रहेका झाक्रीका नाता पर्ने एक जना नायब सुब्बाले मन्त्रालय र विभागमा हुने हरेक गतिविधि पुर्‍याउने गरेको आरोप छ ।

शहरी विकास मन्त्रालयभित्र झाक्रीले बनाएको कर्मचारी संयन्त्र छ । त्यो संयन्त्र रहँदासम्म यस्ता हरेक सूचनाहरू बाहिरिनेछन् । सूचनाहरू सिधै झाक्रीसम्म पुग्नेछ । झाक्री अराजक शैलीमा प्रस्तुत भइरहनेछिन् ।

Published : Saturday, 2022 August 6, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया