दुईतिहाईको बहुमत हुँदा पनि असफल ओलीद्वारा देउवासहितका नेतामाथि तल्लो तहको टिप्पणी

काठमाडौं । झण्डै दुईतिहाइको बहुमत पाएर पनि सरकार चलाउन नसकेर करिव ३ वर्षभित्रै दुई पटक प्रतिनिधि सभा भङ्ग गरेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश बचाउन एमालेले जित्नुपर्ने हास्यास्पद टिप्पणी गर्न थालेका छन् ।

ओलीले संसद दुई पटक विघटन गरेका थिए । नेपाली कांग्रेससहितका दलहरूले न्यायालयबाट संसद बचाएका थिए ।

नेकपाको सरकार र आफ्नै पार्टी नेकपा र एमालेलाई बचाउन नसकेर ओलीले फुटाएका थिए । सरकार चलाउन नसकेर असफल भएका ओलीले देश बचाउन एमालेले जित्नुपर्छ भनेर अभिव्यक्ति दिन थालेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

शुक्रबार भक्तपुरको एउटा कार्यक्रममा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताए ।
आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको भनाइ छ ।

उनले सत्तारूढ गठबन्धन र यसका नेताहरूले देशलाई दुर्गतिमा डुबाएको आरोप समेत लगाए । ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको बताए ।

‘मुख्य फोकस चाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो । अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन’, उनले भने, ‘आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन । एमालेका लागि त केही छैन ।’

उनले भने, ‘प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ ।’
‘राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाइरहन्छ’, उनले भने, ‘यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । एमालेले हार्दा देश हार्छ ।’

गठबन्धनका नेताहरू शेरबहादुर देउवाको गन्तव्य मेडम साहेब भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्यूठान भएको निकै तल्लो तहको टिप्पणी गरेका छन् ।

ओलीले ठट्यौली पारामा उनीहरूबाट देशको हित नहुने बताएका छन् ।

‘एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुर्गतिमा लगेको छ’, उनले भने, ‘निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन । अब मोहन विक्रम सिंहको गन्तव्य प्यूठान ।’

‘शेरबहादुरको गन्तव्य के होभन्दा मेडम साहेब । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्ता–यस्ता गन्तव्य लिएर हिँडेका छन् यिनीहरू, त्यसका लागि जे पनि गर्छन्’, ओलीले भने, ‘यसका लागि देशविरूद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन् । माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या । उनको गन्तव्य–सन्तव्य केही पनि छैन ।’

Published : Friday, 2022 August 5, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया