चालेन्द्रका शक्तिशाली मान्छे प्रहरी खोरभित्र, छुटाउन यी भीआईपीहरू सक्रिय

काठमाडौं । रवाफका साथ हिँड्ने गरेका विवादास्पद व्यापारी अमित श्रेष्ठलाई छुटाउन ठूलो गिरोह सक्रिय भएर लागेको छ ।

श्रेष्ठ उच्च प्रहरी अधिकारीहरूसँगको सम्बन्ध दुरुपयोग गरी २ जना सुरक्षाकर्मी लिएर रवाफका साथ हिंड्ने गर्थे ।

श्रेष्ठ विगत २१/२२ दिनदेखि थुनामा छन् । क्रिप्टोकरेन्सी तथा हुन्डी लगायत कारोबारमा मुछिएपछि श्रेष्ठ थुनामा छन् । प्रारम्भिक छानबिनमा श्रेष्ठले करोडौं कारोबारको स्रोत खुलाउन सकेका छैनन् ।

हैसियत नै नभए पनि तत्कालीन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले सुरक्षा थ्रेटका नाममा उनलाई २ जना प्रहरी दिएका थिए ।

कान्छी श्रीमतीसँग लफडा भएपछि श्रेष्ठले त्यसैलाई सुरक्षा थ्रेट भन्दै पहुँचको दुरुपयोग गर्दै सुरक्षाकर्मी लिएर हिंड्ने गरेका थिए ।
श्रेष्ठलाई लुम्बिनी प्रदेशका तत्कालीन डीआइजी (हाल मेट्रोका एआइजी) रविन्द्रबहादुर धानुकको पनि साथ थियो ।

प्रहरीका उच्च अधिकारीसँगको पहुँच र सुरक्षाकर्मीसमेत भएको धाकधम्की देखाएर अमितले कान्छी श्रीमतीले अदालतमा दायर गरेको अंश मुद्दा फिर्ता गर्न लगाएका थिए ।

उच्च प्रहरी अधिकृतसँगको सम्बन्धको दुरुपयोग गरी विशाल सिमेन्टका पूर्वसंचालक अमितले आफ्ना व्यवसायिक साझेदारहरूको कल डिटेल निकाल्ने काम गरी दुःख दिने गरेका थिए ।

अमितसँग विभिन्न व्यापार व्यवसायमा लगानी गर्ने हितैषी मित्रलाई समेत हदैसम्म दुःख दिन प्रहरी शक्तिको यति धेरै दुरुपयोग गरेको आरोप छ ।

अहिले उनलाई थुनामा राख्दा सहानुभूति राख्नेसम्म कोही पनि प्रकट हुन सकेका छैनन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुशम्शेर जबरासँगको सम्बन्धलाई समेत उनले दुरुपयोग गरेका थिए ।

प्रहरीले अमितको ल्यापटपदेखि मोवाइल चेक गर्दा ३३ करोड रकम उनले नेपालबाट क्यानडामा लगेको देखिएको छ ।

यो रकम चोलेन्द्रले मुद्दामा सेटिङ गरी आर्जन गरेको भ्रष्टाचारको भएको आशंका गरिएको छ । प्रहरी स्रोतले भीभीआईपीकै कनेक्सन देखिएको भन्दै कसको रकम हो भन्ने खुलाएको छैन ।

सुरुमा नुवाकोटबाट काठमाडौं आएपछि नयाँबजारको ग्यारेजमा काम गर्ने मजदुर अमित १५ वर्षमै सिमेन्ट, होटलदेखि जग्गा र अबैध क्रिप्टो करेन्सीमार्फत् अर्बौंको कारोबार गर्नसक्ने हैसियतमा कसरी पुगे भनेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आफ्नो धरातल, साथीभाइ बिर्सेर एकपछि अर्कोलाई सिध्याउन खोज्दा आज अमित खोरमा दिन बिताउन बाध्य छन् ।

अमितको कनेक्सन ३३ किलो सुन र सनम शाक्य हत्याको आरोप लागेपछि नेपालबाट भारत पलायन भई भारतको हरिद्वारमा जोगीको भेषमा लुकेर बसेका र पछि न्यायाधीश सेटिङ गरी सफाइ पाएका बाजेको सेकुवाका चेतन भण्डारी अहिले अमित छुटाउन हिंडेका छन् । अमितलाई छुटाउन नेपाली कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी पनि हातधोएर लागेका छन् । अमितलाई पक्राउ गरेको दिन नेता केसीले फेसबुकमा स्टाटस लेखेर असन्तुष्टि समेत जनाएका थिए । अमितलाई छुटाउन वरिष्ठ अधिवक्ता शम्शु थापा पनि ज्यान फालेर लागेका छन् ।

चेतन भण्डारी, मोहन अग्रवाल र चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश लगायतका व्यक्ति सुनकाण्डमा तत्कालीन मोरङ जिल्ला अदालतका १ नम्बर न्यायाधीश भरत लम्सालसँग सेटिङ गरी उन्मुक्ति पाउन सफल भएका थिए ।

सुनकाण्डमा संलग्न चेतन भण्डारीसहितका व्यक्तिहरूले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई नै बुझाई सफाइ पाएको समाचार यसअघि आईसकेका छन् ।

स्रोतका अनुसार भण्डारीहरूले सुनकाण्डमा एकमुष्ट १० करोडको डिल गरेका थिए । सुनकाण्डमा सेटिङमा सफाइ दिने मोरङका १ नं. न्यायाधीश भरत लम्साललाई हालै न्यायपरिषदले कालीकोटमा सरुवा गरेको छ ।

चालेन्द्रको अबैध पैसा अमिले क्यानडामा बस्दै आएका सीजे ज्ञवालीमार्फत व्यवस्थापन गर्ने गरेको आरोप छ । सो विषयमा पनि प्रहरीले अनुसन्धन गरिरहेको छ ।

अमित कामको सिलसिलामा अफगानिस्तान पुगेका थिए । सोही सिलसिलामा श्रेष्ठ आफै बसेको घर मालिकको सम्पत्ति कुम्ल्याएर २००८ मा नेपाल आएको स्रोतले बताएको छ ।

अमितको नेपालका ‘क’ वर्गका अधिकांश बैंकमा करोडौं रुपियाँको शेयर रहेको पत्ता लागेको छ ।

एभरेष्ट बैंकमा १२ करोड ४० लाख रुपियाँ, लक्ष्मी बैंकमा ५ करोड ६० लाखलगायत नेपालका अधिकांश ‘क’ वर्गका बैंकहरूमा करोडौं रुपियाँको शेयर रहेको प्रहरी स्रोतले जनाएको छ । अमितसँग प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो ।

प्रारम्भिक प्रतिवेदनबाट अमितको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिए पनि कारोबार नै नदेखिएको करोडौं रुपियाँको स्रोतको खोजी कार्य गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीले फेला नपारेको लुम्बिनीमा १० कट्ठा जग्गा र भैरहवामा सुविधासम्पन्न ह्वाइट लोटस होटलमा २५ करोड रुपियाँ लगानी गरेको र काठमाडौंको मुटु मानिने पक्नाजोलमा ३ रोपनी जग्गामा दशौं करोडको घर र काठमाडौंकै बालाजुस्थित मनमैजुमा १५ रोपनी जग्गा, हायत होटलमा पनि ५० देखि ७० करोड रुपियाँ लगानी गरेको र दुबईका एक बैंकमा १२ लाख डलर खातामा रहेको समेत स्रोतले दाबी गरेको छ ।

चोलेन्द्रशम्शेर राणाको विदेशमा व्यवस्थापन गर्न नसकेको पैसा अमितले श्रेष्ठले विभिन्न हाइड्रोपावरहरूमा पनि लगानी गरेको स्रोतले दावी गरेको छ ।

श्रेष्ठको नाममा कमन–वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र रोयल बैंक अफ क्यानडामा सेयर समेत कारोबार गरेको देखिएको प्रहरीले जानकारी गराएको छ ।
नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपियाँभन्दा धेरै रकममार्फत अमितले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको छ ।

अमितको एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ । काठमाडौं–१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको प्रहरीले जानकारी गराएको छ ।

Published : Thursday, 2022 August 4, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया