कांग्रेस ठूलो शक्ति भएपछि एमालेलाई तनाब, सत्तामा जान ओलीले फण्डा गर्न थाले

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली चौतर्फी रुपमा एक्लिएपछि जथाभावी बोल्न थालेका छन् ।

राजनीतिक रुपमा एक्लिएका ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका दलहरूलाई दैनिक रुपमा कठोर अभिव्यक्तिसहित आलोचना गर्ने गरेका छन् । ओलीले फेरि भारतलाई पनि गाली गर्न थालेका छन् । ओलीलाई तनाब भएपछि बरबराउन थालेका हुन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएर सबैलाई चकित बनाएका छन् ।

उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री गुमाउनु पुगेको बताए ।

सुगौली सन्धिले नै नेपालको सीमा प्रस्ट पारेको उल्लेख गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकोमा विवाद नभएको बताए ।

ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेस गर्ने पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो गरेका छन् ।

एकीकृत महाकाली सन्धि नेपालको संसदले अनुमोदन गरेको साढे दुई दशकपछि एमालेका ओलीले उक्त सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् ।

उनले तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको बताएका छन् ।

एकीकृत महाकाली सन्धि अनुमोदन गर्न महत्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताएका छन् ।

२०५३ सालमा संसदले सन्धिलाई अनुमोदन गरेको थियो । त्यस समयमा एमालेभित्र त्यसले ठूलो विवाद निम्त्याएको थियो ।
सोही विषय चर्किँदै गर्दा त्यसबेला एमाले विभाजित समेत बनेको थियो ।

कांग्रेस नेतृत्वको सरकारले मुलुकमा राम्रो काम गरेको छ । ओलीको पालामा जस्तो अहिलेको सरकारले भ्रष्टाचारका काण्ड गरेको छैन । कांग्रेसका कारण एक्लिएका ओलीले जथाभावी अभिव्यक्ति दिन थालेपछि सबैले आश्चर्य व्यक्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो शक्ति भएर आएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि कांग्रेस सत्तामा जाने अवस्था भएपछि एमालेलाई तनाब भएको छ । ओलीले फण्डा गरेरै भएपनि सत्तामा जाने सिँडी बनाउन जथाभावी बोलेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका छन् ।

Published : Tuesday, 2022 August 2, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया