यती, ओम्नी, गिरीबन्धुको जग्गा, वाइडबडी काण्ड गरेको एमालेले नौटंकी देखायो

काठमाडौं । तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकार रहेका बेला ओम्नी, यती, वाइडबडी, गिरीबन्धुको जग्गालगायतका काण्ड गरेको एमालेले भ्रष्टाचारविरुद्ध भन्दै प्रदर्शन गरेको छ ।

आफ्नो सरकारको पालामा ठूला–ठूला काण्ड गरेको एमालेले सोमबार काठमाडौंमा नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

एमालेले गरेको भ्रष्टाचार विरोधी प्रदर्शनप्रति कांग्रेससहितका दलका कार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् । एमालेले पछिल्लो समय भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको जनाएको छ ।

भ्रातृ संगठनहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुस निकालेका छन् । बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारी शान्तिबाटिकासम्म पुगेका थिए ।

उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका थिए ।

कार्यकर्तालाई सडकमा उतारेर एमालेका अध्यक्ष खड्गप्रसाद ओली भने पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् ।

बागमती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमालेका अध्यक्ष पशुपतिमा सहभागी भएका हुन् ।

वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो ।

ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

Published : Monday, 2022 August 1, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया