मन्त्री शर्मा अर्थ मन्त्रालय छिर्नेवित्तिकै ठूलो झड्का लाग्यो

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई स्वागत गर्न अस्वीकार गरेका छन् ।

आइतबार शर्माले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने कार्यक्रममा सचिव मरासिनी अनुपस्थित भएर असन्तुष्टि जनाएका हुन् । मन्त्री शर्मालाई राजश्वका सचिव कृष्णहरि पुस्करले स्वागत गरेका थिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले असार २२ गते शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो ।

मन्त्री शर्माको त्यस बेला आलोचना भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन बुझाएपछि शर्मा चोखिएका थिए ।

शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेर शपथ गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका थिए ।

प्रचण्डको दवाव र आग्रहमा देउवाले शर्मालाई आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रमुख विपक्षी दल एमालेले शर्मालाई अर्थमन्त्री पदबाट बाध्य बनाएर राजीनामा गराए पनि माओवादीले शर्मालाई अर्थमन्त्रीमा ल्याएर जिल खुवाइदिएको छ ।

Published : Sunday, 2022 July 31, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया