ओलीले एक्लै प्रचण्ड र शर्माको सातोपुत्लो लिए, माओवादीभित्र खैलाबैला

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई लत्याइदिएका छन् ।

दुई पटक संसद विघटनको असफल प्रयास गरेका ओलीले संसदीय समितिको प्रतिवेदनलाई अस्वीकार गर्नु कुनै नौलो कुरा भएन । ओलीले यसअघि पनि वाईडबडी घोटालाको छानविन गर्न बनेको संसदीय समितिले प्रतिवेदन नबुझाउँदै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी निर्दोष रहेको भनेर चोख्याएका थिए ।

शनिबार राजधानीमा राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका हुन् ।

उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताए ।

ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाएका छन् ।

‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’

छानबिन समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएको ओलीले बताएका छन् ।

‘७ जना आफ्नो राखेर बहुमत र अल्पमतको फैसला । त्यो त त्यहीँ पार्लियामेन्टमा हुन्छ हुन्न भनेको भए भइहाल्थ्यो नि’, उनले भनेका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना सदस्य थिए ।

सात जना सदस्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू थिए ।

ओलीको अभिव्यक्तिले संसदीय प्रजातन्त्रप्रति एमाले र ओली अनुदारवादी छन् भन्ने देखाएको छ । माओवादी केन्द्रलाई ओलीको पछिल्लो अभिव्यक्तिले तनाव दिएको छ ।

जनार्दन शर्मा प्रकरण र ओलीको पछिल्लो अभिव्यक्तिले एमाले र माओवादी झन् टाढिएको संकेत गरेको छ ।

यसैबीच, ओलीले युवाहरूले पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् ।

उनले युवालाई पद चाहिएर पार्टीको माथिल्लो कमिटी ठूलो बनाउनुपर्ने अवस्था आयो भने त्यो राम्रो नहुने बताए ।

‘युवाहरू पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने’, उनले भने, ‘युवाहरूलाई पद नभई माथिल्लो कमिटी ठूला ठूला बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो लक्षण होइन ।’

ओलीले आफूले भनेजस्तो भएन भने अनुशासन उल्लंघन गर्नु युवा सुलभ गुण नभएको बताएका छन् ।

युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन चाहिने उनले बताएका छन् ।

‘काममा प्रतिस्पर्धा गरौं, पदमा होइन, पद प्राप्तिमा होइन, जिम्मेवारी लिने, सफल हुने कुरामा प्रतिस्पर्धा गरौं’, ओलीले भनेका छन् ।

Published : Saturday, 2022 July 30, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया